काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको सम्रग विकासमा सहयोग नगर्ने टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाउनु भयो । बजेटमार्फत विकासको आधुनिक मोडलका साथ अगाडि नबढेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ छ । सांसद विष्टले मन्त्रालयगत विनियोजन समेत सन्तुलित नभएको टिप्पणी गर्नुभयो । उहाँले केही नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको समेत आरोप लगाउनु भयो । उहाँले अर्थमन्त्रीलाई ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाट मात्रै मन्त्री बन्न सक्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले जहिलेसम्म बजेट विनियोजनमा आधुनिकता र नयाँपन दिँदैनौँ तबसम्म परम्परागत बजेटले कहिले पनि देशको समग्रता विकास गर्न सक्दैन । राम्रो कामको निरन्तरता दिनसक्ने क्षमताको विकास कहिले गर्नसक्छ सरकारले? कसैले राम्रो कामको सुरुवात गरेको थियो भने त्यसलाई निरन्तरता दिनुपर्छ कि रोक्नुपर्छ । यो मुख्य प्रश्न हो अहिलेको । तीन करोडमुनीका योजनाहरु नराख्ने अर्थमन्त्रीज्युले भन्नुभयो । तर २० लाखका पनि योजना आएकै देखियो । आज अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, यो देशमा रहेका ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्रबाट मात्र तपाई मन्त्री बन्न सक्नुहुन्छ ? यो मैले सोधेको होइन । प्रतिनिधि सभाको बैठकमा सत्तापक्षकै साथिहरुले भन्नु भएको हो । ’
राजनीतिक पूर्वाग्रहीका आधारमा बजेट विनियोजन गरिएके समेत उहाँको आरोप छ ।










