काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा डेढ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठक साढे दुई बजेबाट सुरु भएको एक नेताले जानकारी दिए ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ ।
बैठकका लागि पदाधिकारी बैठकले पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृसंस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिबारे एजेन्डा तय गरिएको छ ।
तस्बिरः गोपाल दाहाल/रासस










