काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नुभएको छ ।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
पूर्वराष्ट्रपति भण्डारीले समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने बताउनु भयो । उहाँले सदाझैँ सबैको सधैँभर माया र विश्वास पाइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।
bidhya-2082-3-14










