८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण
अ अ+ अ-

घोडाघोडी । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका–१ मा रहेको चेतना सामुदायिक वन, वडा नं ३ मा रहेको मुक्तकमैया सामुदायिक वन, जानकी गाउँपालिका–८ र ९ स्थित अमरावती सामुदायिक वन र मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधि व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार आयोजनाले पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन जनावर र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ ।

कर्णाली करिडोरअन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छन् । ती क्षेत्रमा चिसापानी, लम्की र टीकापुर सब–डिभिजन वन कार्यालयमार्फत आयोजना सञ्चालित भएका हुन् ।

उक्त आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दी जैविकमार्गका साथै सुदूरपश्चिम प्रदेशको ब्रह्मदेव जैविकमार्ग कञ्चनपुर र कैलालीको कर्णाली जैविकमार्गमा सञ्चालन भइरहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार यो आयोजना ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी ९जिइएफ० र वल्र्ड वाइल्डलाइफ फन्ड ९डब्लुडब्लुएफ० को सहयोगमा वन तथा वातावरण मन्त्रालयमार्फत तराई भूपरिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्ग संरक्षणमा सञ्चालित छन् ।

जङ्गलमा पोखरी निर्माणपछि वन्यजन्तु पानी खान आउन थालेको जालपा सामुदायिक वनका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार पाटेबाघ, चित्तललगायतका वन्यजन्तु पानी खानका लागि पोखरीमा आउने गरेका छन् । पोखरी निर्माणले वन्यजन्तु आउने गरे पनि छेउमा राखेका सेतो होडिङ बोर्डका कारण भने समस्या हुने गरेको अध्यक्ष खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “होडिङ बोर्ड राख्नुभन्दा पहिले अझ धेरै जन्यजन्तुका पाइला देखिन्थे, तर अहिले कमी भएको छ ।”

पानी खानका लागि नहरमा जाने चितल डुब्ने गरेको बताउँदै मुक्तकमैया सामुदायिक वनका अध्यक्ष हितु चौधरीले भन्नुभयो, “कति चितललाई उद्धार गरेका छौँ, अहिले पोखरी बनेपछि जनावरलाई पनि निकै सहज भएको छ, उक्त सामुदायिक वनमा तीनवटा पोखरी निर्माण गरिएका छन् ।”

उक्त आयोजनाले कर्णाली करिडोरमा सिमसार र घाँसेमैदान व्यवस्थापन, वन्यजन्तु उद्धार तालिम तथा उपकरण वितरण, नर्सरी निर्माण तथा बिरुवा उत्पादन, वन डढेलो व्यवस्थापन गोष्ठी तथा औजार हस्तान्तरण, वन उद्यम र जीविकोपार्जनसम्बन्धी विभिन्न क्रियाकलाप पनि  सञ्चालन गरेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

वन्यजन्तुका लागि पोखरी निर्माण, वन डढेलो व्यवस्थापनसम्बन्धी उपकरण हस्तान्तरण, विभिन्न तालिम गोष्ठी, वन उद्यम तथा जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको सबडिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्णकुमार विष्टले बताउनुभयो  । उहाँले भन्नुभयो, “पानी खानका लागि वन्यजन्तु गाउँसम्म नै वन्यजन्तु पुग्ने गर्दथे, जसले घटना निम्त्याउँथ्यो अहिले भने पोखरी निर्माण पछि घटना नियन्त्रण भएका छन् ।”

आयोजनाको सहयोगमा घाँसेमैदान निर्माणसँगै लम्की सबडिभिजन वन कार्यालय र टीकापुर सबडिभिजन वन कार्यालयमा बिरुवा उत्पादन गरिएका छन् । लम्कीमा एक लाख अम्बा, बकाइनो, गोल्ड मोहर, शीतलचिनी, नीम, अमला, सागवान, महगानी, टाँकी जातका बिरुवा उत्पादन गरिएको सबडिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी, टीकापुरमा ५० हजार बिरुवा उत्पादन गरिएको सबडिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिपकुमार यादवले जानकारी दिनुभयो । आयोजना जिल्लामा पाँच वर्षका लागि लागू भएकामा चार वर्ष पूरा भइसकेको छ । रासस