२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारी



अ+ अ-

काठमाडौं । खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुल्ने लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन् । 

सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन् । वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ हजार ८७ हजार ८ सय बढी श्रमिक रहेकोमा १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किन सक्ने बताउनुभयो । सरकारले करिब ४५ हजारलाई चार्डड उडान मार्फत ल्याइरहेको भएपनि १ लाख २७ हजार श्रमिक आममाफी पाएर र श्रमअवधि सकिएर फर्किने लाइनमा रहेको उहाँले बताउनुभयो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्देशक श्रेष्ठले वि.स. २०५० सालदेखि चालुआर्थिक वर्षको फागुन मसान्तसम्म ५४ लाख ९६ हजार ४ सय ६० जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको बताउनुभयो । जसमा २ लाख ३७ हजार ९ सय ६१ जना महिला रहेका छन् । अहिले १४ लाख ८७ हजारको हाराहारीमा श्रमिकहरु विभिन्न देशमा कार्यरत रहेको उहाँले बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताउनुभयो । जसमा २ हजार ७ सय ४२ जनालाई प्रदेशमा पठाइएको छ । लक डाउनको अवधिमा विभिन्न देशमा ३ सय १८ जनाको निधन भएकोमा १ सय १४ जनाको परिवारले उतै अन्तेष्टि गर्न अनुमति दिएको बताउनुभयो । अहिलेसम्म ४० वटा शव नेपाल आइपुगेको र अझै १ सय ६४ वटा शव ल्याउन बाँकी रहेको उहाँले बताउनुभयो ।

समितिले नेपालमा काम गर्ने विदेशी कामदारहरुले श्रम स्वीकृति लिए÷नलिएको विषयमा अनुगमन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । अनुगमनमा स्वीकृति नलिएको पाइए तत्काल कारवाही गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । समिति बैठकमा सांसदहरुले श्रमिकहरुलाई ल्याउने सम्बन्धमा सर्वोच्चले दिएको आदेशको पालना भए÷नभएको बारेमा चासो राखेका थिए । नेपाल फर्किने नागरिकहरुको रोजगारी व्यवस्थापनका विषयमा पनि मन्त्रालयले गरिरहेका कामका विषयमा चासो राखेका थिए ।