८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उद्यम क्षेत्रमा प्रेरणाका स्रोत हुन् रुद्रनारायण

उद्यम क्षेत्रमा प्रेरणाका स्रोत हुन् रुद्रनारायण
अ अ+ अ-

रामपुर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला रित्तो हात रामपुर झरेका रुद्रनारायण श्रेष्ठको उद्यमशीलता यतिखेर अन्यका लागि अनुुकरणीय बनेको छ । जीवनका विभिन्न उतारचढावलाई पार गर्दै सफल व्यवसायीका रुपमा स्थापित बन्नुुभएका श्रेष्ठको उद्यमशीलता यतिखेर धेरैका लागि दरिलो पाठ बनेको हो ।

किताबका पाना पल्टाएजस्तै गरी व्यवसायको दौरानमा श्रेष्ठको जीवनमा धेरै अनुभव सँगालिएका छन् । उहाँको पहिचान भने सिन्के चाउचाउ र झिनियाँका नामले प्रख्यात छ । उहाँको व्यापारिक जीवनशैली पढ्ने हो भने धेरै उतारचढावका छन् । कहिले दुःख त कहिले सुख, कहिले हार त कहिले सफलता यस्तै–यस्तै व्यावसायिक जीवनलाई अगाडि बढाउनुभएका रुद्रनारायण अहिले आइपुग्दा भने एउटा सफल व्यवसायी मात्रै नभई उद्योग, व्यवसायको क्षेत्रमा प्रोरणाका स्रोत हुनुहुन्छ ।

पाल्पा रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने उहाँ यो समाजकै एक प्रतिष्ठित र सफल उद्यमी हो । व्यापार, व्यवसायमा राम्रो सफलता कमाउनुभएका श्रेष्ठले युवालाई व्यवसायमा ल्याउन प्रोत्साहन गर्ने, नयाँ व्यवसायीलाई आड, भरोसा, बजारीकरण, अहिलेको प्रतिस्पर्धात्मक बजारमा कसरी व्यवसाय गर्ने लगायतका सन्दर्भमा सहजीकरण गर्दै आउनुभएको छ ।

श्रेष्ठले हाल आफ्नै घरमा कालिका सिन्के चाउचाउ तथा झिनियाँ उद्योग सञ्चालन गरिरहनुभएको छ । हालको पूर्वखोला गाउँपालिका–५ स्थित बिरकोटमा जन्मनुभएका श्रेष्ठले भविष्यमा व्यवसायका लागि रामपुर बजारको राम्रो सम्भावना देखेपछि २०५२ सालमा व्यवसाय गर्ने अठोट बोकेर रित्तो हात आएको उहाँ बताउनुहुन्छ । त्यसअघि भने उहाँले पाल्पाकै बिरकोट, आर्यभन्ज्याङ र जब्गादीमा किनारा पसल चलाउनुभयो तर, सफल भने हुनुभएन ।

जस्तोसुकै कठिनाइ आइपरे पनि कहिल्यै विचलित नहुने श्रेष्ठलाई रामपुर बजार झरेपछि भने व्यवसायमा सफलता मिल्यो । उहाँले चलाउनुभएको कालिका सिन्के चाउचाउ तथा झिनियाँ उद्योगमा आठ जनाले रोजीरोटी गर्ने अवसर पाएका छन् । “रामपुर बजार हेर्दा समथर भूभाग, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रको एउटा व्यापारिक केन्द्र भएकाले यो ठाउँमा व्यवसायका लागि उपयुक्त छ भन्ने लागेर रित्तो हात गाउँबाट झरेको हुँ,” उहाँले भन्नुभयो, “व्यवसायका लागि हातमा पैसा त थिएन तर बैङ्कबाट ऋण लिएर सुरुमा व्यवसाय चलाउन थाले, राम्रो हुँदै गयो ।”

यतिबेला उहाँको दैनिकी उद्योगमा उत्पादित चाउचाउ तथा झिनियाँ गाउँ तथा बजारमा बिक्री गर्नमा बितिरहेको छ । रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा विभिन्न सङ्घसंस्थामा नेतृत्व सम्हाल्नुभएका श्रेष्ठले आफैँ मोटरसाइकलमा चाउचाउ बोकेर पसल तथा होटलमा पु¥याउन जानुहुन्छ । यसरी सामान पसल तथा घरघरमा पुगेर बिक्री गर्न पाउँदा उहाँ उत्साहित हुनुुहुन्छ ।

“ग्राहक तथा व्यापारीले माग गरेपछि जुनसुकै समयमा घरमै सामान बिक्रीका लागि पुग्ने गरेको छु, व्यवसाय नाफा कमाउने थलो मात्र होइन, यसलाई सेवामूलक हिसाबले लिनुपर्छ,” श्रेष्ठले भन्नुभयो, “उद्योगमा कामदारसँगै दैनिक खटिएर काम गरिरहेको हुन्छु, कामदारलाई व्यवसायमा लगाउने र मालिक बनेर म कहिल्यै बसिनँ, उनीहरुसँगै काम गर्दा रमाइलो लाग्छ, एकापसमा सिकाइ आदानप्रदान भइरहन्छ, व्यवसायमा यहीँ छ आनन्दको जिन्दगी ।”

उद्योग तथा व्यवसायको क्षेत्रमा कुरा गर्ने हो भने उहाँको नाम अग्रपङ्क्तिमा आउँछ । प्रतिस्पर्धात्मक युगमा व्यवसाय भरसक आफ्नै मात्रै चलोस्, आफूले मात्रै कमाउन सकुँ भन्ने यो धारणा धेरैमा हुन्छ । व्यवसायमा आफू पनि सफल बन्ने प्रयत्न गरौँ, अन्य व्यवसायीलाई पनि सफल बनाउनुपर्छ भन्ने उहाँको दृढ सङ्कल्प छ । सायद यस्तो व्यक्ति समाजमा विरलै भेटिन्छन् । उहाँको यो व्यवसायले युवावर्गलाई आकर्षित बनाएको छ ।

श्रेष्ठले रामपुरमा सुरुआती चरणमा किसानबारी बजारमा दुई वर्षसम्म किराना पसल चलाउनुभयो । त्यहाँ रहँदा गाउँ–गाउँमा किरानाका सामान होलसेलमा पु¥याउनुहुन्थ्यो । किनारा पसलपछि रामपुर–५ राङभाङमा कुखुरापालन व्यवसाय सुरु गर्नुभयो । कुखुरापालनमा पनि सोचेअनुसार सफलता मिलेन । व्यवसाय थालनीको दुई वर्षमै कुखुरा मरेर ठूलो क्षति बेहोर्नुप¥यो । तैपनि व्यवसायमा हार भने मान्नुभएन । पुनः व्यवसायलाई अगाडि बढाउँदै जानुभयो ।

कुखुरापालनसँगै सिन्के चाउचाउ उद्योग स्थापना गर्नुभयो । चाउचाउ उद्योगमा निरन्तर जोड दिएर लाग्नुभयो । चाउचाउबाट राम्रो आम्दानी हुँदै गएपछि झिनियाँको व्यापारसमेत थालनी गर्नुभएको हो । कामदार पारिश्रमिक खर्च र व्यवसायको लगानी खर्च कटाएर वार्षिक रुपमा हाल पाँच लाख बढी नाफा लिने गरेको उहाँ बताउनुहुन्छ । रामपुरमा फार्मका रुपमा विस्तार गर्ने चाउचाउ, सिन्के र कुखरापालन व्यवसाय यो क्षेत्रकै पहिलो व्यवसायी श्रेष्ठ हुनुुहुन्छ ।

“पहिलाको तुलनामा अहिले व्यापार–व्यवसायको बजार हेर्ने हो भने आधाभन्दा धेरै घटेको छ तैपनि मैले व्यवसायबाट राम्रै लाभ लिइरहेको छु,” श्रेष्ठले भन्नुभयो, “व्यापार राम्रो हुँदाका बखत एक महिनामै रु दुई लाख बराबरको आम्दानी गर्थे, कोभिड–१९ पश्चात् सबै क्षेत्रका व्यापार व्यवसाय कम भएका छन्, म यस व्यवसायबाट सन्तुष्ट छु, बाँचुन्जेल यसमै रमाउने हो ।”

उत्पादन भएका सामान पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका विभिन्न स्थानमा खपत भइरहन्छ । कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएका श्रेष्ठले व्यवसाय गर्ने क्रममा धेरै अनुभव बटुल्नुभएको छ । आफ्नो गाउँठाउँमा विभिन्न व्यापार, व्यवसाय विस्तार गर्ने त्यसबाट आर्थिक समृद्धि ल्याउने उहाँको अभियान छ ।

“व्यवसायबाट फाइदा र लाभ भन्ने मात्रै छैन, व्यवसाय गरेपछि समाजमा पनि हित हुने खालको योगदान दिनुपर्छ भन्ने मेरो सङ्कल्प छ, मैले आफ्नो व्यवसायलाई मात्रै प्राथमिकता दिएको छैन, यहाँ सञ्चालन भएका विभिन्न व्यवसाय, उद्योगमा बेला–बेलामा जाने, सल्लाह दिने, बजारीकरणका लागि सघाउने कार्य गरिरहेको छु, व्यवसायमा आफू पनि टिकौँ र अरूलाई पनि टिकाऔँ भन्ने नै मेरो मुख्य सङ्कल्प छ,” श्रेष्ठले भन्नुभयो ।

रामपुर बजार उहाँका लागि आयआर्जन गर्ने र समाजसेवा गर्ने थातथलो बनेको छ । हरेक क्षेत्रमा पुग्दा व्यापार–व्यवसायकै सन्दर्भमा छलफल र बहस गर्नुहुन्छ । आफूले जानेका अनुभव अरूलाई बाँड्ने र अरूका नयाँ अनुभव ग्रहण गर्दै व्यवसायमा लगाउनुहुन्छ । काममा मेहनत र जाँगर गरियो भने सफलता एक दिन अवश्य हात पर्छ भनेझैँ अहिले व्यवसायबाट उहाँको जीवनमा सफलता नै सफलताले छाएको छ ।

व्यापार–व्यवसायमा उहाँले सानै उमेरदेखि नै रुचि राख्ने गर्नुहुन्थ्यो । विद्यालयमा पढ्ने क्रममा गाउँका पसलबाट होलसेल मूल्यमा मिठाई खरिद गरेर कक्षाकोठमा केही नाफा गरेर साथीभाइमाझ बिक्री गर्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । मिठाई बिक्रीबाट गरेको नाफाले कापी, कलम, किताबमा खर्च गर्नुहुन्थ्यो । यसरी बिक्री गर्दा नाफा हुने रहेछ भन्ने जानकारी भएपछि उहाँको मन व्यापारमा नै तानियो । अन्ततः उहाँले आफ्नो जीवन नै व्यापारमा लगाउनुभयो ।

सामाजिक सङ्घसंस्थामा नेतृत्व गर्ने श्रेष्ठ यो क्षेत्रकै एउटा सफल उद्योगी मात्र होइन, सबैका लागि व्यवसायमा उत्प्रेरणाको स्रोत हुनुहुन्छ । यही व्यवसायबाट पाँचजना छोराछोरीलाई उच्च शिक्षा दिनुभएको छ । व्यवसायबाटै आफ्ना सन्ततिलाई एमबिबिएस (चिकित्सा स्नातक र शल्यचिकित्सा स्नातक) सम्मको शिक्षा दिन सफल भएको उहाँ बताउनुहुन्छ । यही व्यवसायबाटै चारजना छोरीको बिहे खर्चसमेत व्यवस्थापन गर्नुभएको छ । यो व्यवसायमा रुद्रनारायणलाई श्रीमती लक्ष्मी र छोराछोरीको राम्रो साथ रहेको छ । उच्च शिक्षा सकेर अन्य रोजगारीमा आबद्ध रहेका छोराछोरीले पनि व्यवसायलाई सघाइरहेको उहाँ बताउनुहुन्छ । रामपुर बजारका अलवा काठमाडौँ, बुटवल बजारमा घरघडेरी समेत बन्दोबस्त गर्नुभएको छ । व्यवसायका लागि बैङ्कबाट लिएको ऋणलाई व्यवसायमा राम्रो सदुपयोग भएको उहाँ बताउनुहुन्छ । व्यवसायमा आउने उतारचढावलाई सामान्य रुपमा लिने उहाँको बानी छ ।

उद्योग, व्यवसायको क्षेत्रमा रुद्रनारायणले योगदान अतुलनीय रहेको हुँदा उहाँको व्यवसाय सबैका लागि सिक्न र हेर्न लायकको रहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “व्यवसायमा हुने सफलता र असफलताका परिस्थितिलाई मिलाएर अगाडि बढ्न सक्यो भने एक दिन सफलता हात पर्छ भन्ने एउटा उदाहरण उहाँले समुदायमा दिनुभएको छ, व्यापार–व्यवसाय कसरी गर्ने भन्ने उहाँबाट सिक्न जरुरी रहेको छ, उहाँ जस्ता सफल व्यवसायीले नगरपालिकामा उद्योग, व्यवसायको क्षेत्रमा ठूलो योगदान पुगेको छ,” नगर प्रमुख थापाले भन्नुभयो ।

सादा जीवन उच्च विचार राख्ने श्रेष्ठको कार्यशैली साँच्चिकै सबैले सिक्नुपर्ने खालको छ । व्यवसायबाट सफलता चुलिँदै जाँदा पनि उहाँको कार्यशैली अत्यन्तै सरल छ । उमेरले उहाँ छ दशक प्रवेश गरे पनि युवा पुस्तामाझ लोकप्रिय व्यक्ति हुनुुहुन्छ । ढल्कँदो उमेरमा पनि व्यवसायप्रतिको लगाव र मेहनत देख्दा आजका युवा पुस्ताले अनुकरण गर्नुपर्नेछ । रासस