८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वैकुण्ठ धाम क्षेत्रः प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय गन्तव्य

वैकुण्ठ धाम क्षेत्रः प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय गन्तव्य
अ अ+ अ-

काठमाडौँ । चितवनको दक्षिणी भेगमा अवस्थित माडी उपत्यकाले पर्यटकीय दृष्टिकोणले विशिष्ट पहिचान बनाउँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज पार गरेर पुगिने माडी प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले समृद्ध छ । विशेष गरी माडी–८ मा अवस्थित वैकुण्ठ धाम क्षेत्रले पर्यटकको मन लोभ्याइरहेको छ ।

वैकुण्ठ धाम क्षेत्रभित्र पर्ने वैकुण्ठ ताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भीर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको हो । साथै कान्तिपुर सामुहिक खेती, फार्म स्टे र अयोध्या मार्ग जस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएका छन् । वैकुण्ठ तालमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गरेको वैकुण्ठधाम फोटो तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताउनु भयो । उहाँले बाला चतुर्दशीमा मन्दिरमा रातभर जाग्राम बसी बत्ती बाल्न र अर्को दिन बिहान वैकुण्ठ कुण्डमा स्नान गर्ने गरिँदै आएको बताउनु भयो । उहाँले यस कुण्डमा स्नान गरिसकेपछि पाप नष्ट हुन्छ भन्ने जनविश्वास रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “यो चितवन जिल्लाको माडी नगरपालिका वडा नं. ८ मा अवस्थित वैकुण्ठेश्वरधाम । धार्मिक तथा पर्यटकीय हिसाव महत्वपूर्ण हो वैकुण्ठ धाम । यो ठाउँमा हरेक वर्ष बाला चतुर्दशीमा मेला लाग्ने गर्छ । मन्दिरमा आएर रातभर जाग्राम बत्ती बाल्ने र बिहान वैकुण्ठ कुण्डमा स्नान गर्ने यहाँका विशेषताहरू रहेका छन् । यो कुण्डमा स्नान गरेपछि पाप नष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । पौराणिक कालमा राम सीता वनवास आउँदा यहीँ कुण्डमा स्नान गरेको भन्ने पनि विश्वास छ ।”  

वैकुण्ठधाम पुग्नका लागि भरतपुर–माडी–ठोरी हुलाकी सडक हुँदै खर कट्टासम्म पुग्नुपर्छ । त्यसपछि जङ्गलको छेउमा तीन किलोमिटर लामो पक्की सडक निर्माण भइसकेको छ । त्यहाँबाट करिव २० मिनेट उकालो हिँडेर वैकुण्ठ ताल पुगिन्छ । हरियाली जङ्गलको बीचमा रहेको यो सानो तालमा माथिबाट झर्ने झरनाले दृश्यलाई अझ रमणीय बनाएको छ । वैकुण्ठ तालभन्दा माथि झन्डै डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना अझै पनि कमै चिनिएको गन्तव्य हो । करिव ६० मिटर उचाईबाट खस्ने यो झरना स्थानीय स्तरमै नयाँ गन्तव्यको रूपमा विकास हुँदैछ । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छ भने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना छ ।

पूर्व वडाध्यक्ष कृष्ण अधिकारीकाअनुसार माडीको यस क्षेत्रमा वि.सं. २०२०–२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत बीउ छर्ने परम्परा शुरु भएको हो । अधिकारीकाअनुसार त्यो अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ धन प्राप्त हुने किंवदन्ती भएको हुनाले झरनालाई धनलक्ष्मी छहराको नाम दिइएको बताउनु भयो । उहाँले वैकुण्ठधाम क्षेत्र अत्यन्तै सुन्दर र रमाइलो रहेकोले सबैलाई आउनको लागि आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “वैकुण्ठधामबाट विभिन्न किसिमका प्राकृतिक छहरा, छाँगा, झरना, ताल, दहहरूको अवलोकन गर्दै यो ठाउँमा आउन सकिन्छ । यहाँ आइसकेपछि यहाँको रमाइलो सबै कुरा अवस्था र यहाँ धन प्राप्त हुने पनि पूर्खाहरूले धनलक्ष्मी छहराको नामबाट धन प्राप्त हुने किंवदन्ती भएको हुनाले यसलाई  धनलक्ष्मी छहराको नामले चिन्दछौँ । यो अत्यन्तै सुन्दर र रमाइलो ठाउँमा रहेको छ र सबैलाई आउनको लागि पनि अनुरोध गर्छौं ।” 

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडी क्षेत्रमा खहरे खोलाको सङ्ख्या धेरै हुनु र जङ्गली जनावरको उपद्रव भने स्थानीयको प्रमुख चिन्ताको विषय बनेको छ । बाघ र गैँडाजस्ता वन्यजन्तु देखाएर अन्य क्षेत्रमा पर्यटन फस्टाए पनि माडीमा अझै त्यसको समुचित लाभ उठाउन सकिएको छैन । धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण माडीको वैकुण्ठधाम क्षेत्र पर्यटनको दीर्घकालीन केन्द्र बन्न सक्ने सम्भावना बोकेको छ । पूर्वाधार विस्तार, प्रचारप्रसार र स्थानीय सहभागितामार्फत यस क्षेत्रलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नसके लाभ लिन सकिन्छ ।