काठमाडौँ । भारतबाट नेपाल भित्रिएको सलहको झुन्ड मकबालीमा केन्द्रित देखिएको छ । अर्घाखाँची, दाङ, मकवानपुरलगायत क्षेत्रको मकैमा यसले बढी क्षति पुर्याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । ‘अर्घाखाँची र दाङमै धानको ब्याडमा बसे पनि त्यति धेरै क्षति पुर्याएको छैन । मकैबालीमा भने क्षति पुर्याएको जानकारी प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेव हुमागाईंले भने, ‘कृषि ज्ञान केन्द्रमार्फत थप विवरण संकलन गरिरहेका छौं ।’
मकवानपुर, नुवाकोट र रोल्पामा पनि सलहले सामान्य क्षति पुर्याएको छ । त्यस क्षेत्रमा ज्ञान केन्द्रका कर्मचारीले विवरण संकलन गरिरहेको उनले बताए । बिहीबार सलह प्यूठान र दाङमा केन्द्रित देखिएको छ । केहीकेही झुन्ड रोल्पा/बागलुङतर्फ लागेका छन् । केही रोल्पा हुँदै पश्चिमतर्फ लागेका छन् ।
सलहका थप झुन्ड आउन सक्ने
वायुको प्रभावसँगै भारतबाट सलहका थप झुन्ड आउने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहका झुन्ड रहेको र एउटा झुन्ड कुशीनगरबाट चम्पारण जिल्लातर्फ उडेको केन्द्रको भनाइ छ । ती सलह दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने भारतीय अधिकारीहरूले अनुमान गरेको सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले जनाए । जल तथा मौसम विज्ञान विभागले हावा यतैतर्फ आउने संकेत गरेकाले थप झुन्ड नेपालमा भित्रिने डर भएको उनले बताए । कान्तिपुर दैनिक