८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’

‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’
अ अ+ अ-

काठमाडौँ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बस्नु भएन । समस्यासँग हार्नु भएन, अभाव देखाएर भाग्नु भएन ।

समस्याले थिचि नै रह्यो तर सपनाले निदाउन दिएन । जिम्मेवारीले थाक्न दिएन । सायद सन्तानले पनि बाउभित्रको त्यो ‘जुनुन्’ देखेँ । बाबुआमाको मुहारमा ‘हाँसो’ नदेखे पनि आँतभित्रको ‘आँट’ देखेँ । त्यसैले त आज ‘ढुङ्गाको काप फोरेर पनि निस्किन्छ पीपल, सिर्जना शक्ति संसारमा हुँदैन कहिल्यै विफल’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको कवितांश यथार्थमा परिणत भएको छ । उहाँकी एउटा छोरी सम्भवतः नेपालमा चमार समुदायबाट चिकित्सा शिक्षामा स्नातक ९एमबिबिएस० गर्ने पहिलो छात्रा बन्नुभएको छ ।

अरू दुई सन्तानले पनि शिक्षामा राम्रो सफलता हासिल गरेका छन् । माइली छोरी सृजना हरिजन हाल बेलायतमा र कान्छो छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआइटी राउरकेला, उडिसामा कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ अध्ययन गरिरहेका छन् । यो परिवारको सङ्घर्ष र सफलताको कथा हाल सबैका लागि उदाहरणीय बनेको छ । यसका पछाडि बुबाआमाको असाधारण सङ्घर्ष छ, अदम्य साहस पनि । त्यो सङ्घर्षको आक्रोस्बाट बुबा सन्तराममा ‘अदम्य अठोट’ र सन्तानहरूमा बुबाको सपना पछ्याउने ‘इख’ ले सफलताको बाटो तय गरेको हो ।

‘इँटाको भुङ्ग्रोबाट जन्मिएका सपना’

कपिलवस्तुको बहादुरगञ्ज, त्यहाँभित्रको चमारबस्ती । घन्घोर पञ्चायतकालीन समय, जात व्यवस्थाको पिँधमा रहनु अर्थात् चमार हुनुका व्यथा सन्तरामसँग कतिछन् कति । त्यो क्षण सम्झ्यिो भने अहिले पनि उहाँको मन भत्भति पोल्छ, आँखालाई आक्रोस्को आँसुले बिटुलो बनाउँछ । कथित जात र पेसाले कहिल्यै आत्मसम्मानका साथ बाँच्न नदिने । एकातिर जात व्यवस्थाको जाँतो, अर्कोतिर त्यसैले सिर्जना गरेको गरिबीको खाडल । सन्तरामले आफ्ना बुबाको सङ्घर्ष देख्नुभयो ।

इँटाभट्टाको भुङ्ग्रोमा काँध थाकिने र हात ठेला उठ्ने गरी गरेको बाउको सङ्घर्षभन्दा ‘जातका कारण भोगेको अपमान’ को ‘घाउ’ ले सन्तरामलाई भत्भति पोल्थ्यो । “हो त्यहीबाट सपनाको जन्म भएको हो । बुबासँग इँटाभट्टामा मजदुरी गर्दा गर्दै एसएलसी उत्तीर्ण गरेँ । बुबाको इमानको कमाइबाट प्लस टु पढेँ, थप उच्च शिक्षाको सपना देँखे तर अभाव र गरिबीले टाउँको उठाउन दिएन । सपना त कति देँखेदेँखे तर त्यसलाई पछ्याउँदा सधैँ व्यवधान १”, उहाँले भन्नुभयो ।

विसं २०४२ चैत ३१ गते सन्तरामको जीवनले नयाँ मोड लियो । सङ्घर्षकै क्रममा सो दिनदेखि उहाँ नेपाल प्रहरीको सहायक निरीक्षक बन्नुभयो । “कलिलो मस्तिष्कमा अभाव र अपमानको पीडा बेस्सरी गडेको थियो । त्यसको समाधानको उपयुक्त माध्यमका रूपमा राष्ट्रसेवामा प्रवेश गरेँ । अभावमा हुर्किए पनि जीवित सपनाले साकार रूप ग्रहण गरेको दिन थियो त्यो”, उहाँ सम्झिनुहुन्छ, “अब त सपनाले नयाँ उडान भर्ने भयो भन्ने लाग्यो । प्रायः हाँसो नदेखिने बुबाको मुहारमा हाँसो ल्याउने, आमाको गहना बन्दकी राखेर पढेको ऋण तिर्ने र उन्नत भविष्यको कल्पना गर्ने, सन्तानलाई सुखको जीवन दिने । यही त थिए सपना १ अहँ, त्यो तीन वर्ष पनि टिकेन । निसाफको कुरा गर्दा जागिरबाट बर्खास्त हुनुपर्‍यो ।”

काठमाडौँको तत्कालीन कमलपोखरी वडा प्रहरी कार्यालयमा कार्यारम्भ गरेका सन्तराम त्यहीबाट बर्खास्तीमा परेर फेरि सडकमै आउनुभयो । बर्खास्तीको दिन अर्थात् २०४५ साउन १७ गते आज जस्तै लाग्छ उहाँलाई । सन्तरामले बताएअनुसार उहाँको कमाण्डमा रहेको टोलीले जबरजस्ती करणीमा एउटा मान्छेलाई पक्राउ ग¥यो । कारबाही अगाडि बढायो, पछि ती व्यक्ति तत्कालीन उच्च प्रहरी अधिकारीका आफन्त रहेछन् भन्ने थाहा भयो । यही घटना गिँजोलियो र पछि अर्को घटनामा सन्तराम रु तीन हजार घुस लिएको भनेर बर्खास्तीमा पर्नुभयो ।

“सङ्घर्ष गरेरै हुर्किए । ठूलो सपना बोकेर जागिर गरियो तर त्यो धेरै टिकेन । जबर्जस्ती बर्खास्तीमा परे । यो जीवनको असाधारण मोड थियो तर हिम्मत हारिन, फेरि सङ्घर्ष गरे । शिक्षण गरेर जीविको चलाए”, उहाँ भन्नुहुन्छ, “दुःख त भयो तर हार मानिन । मसँगै सेवा प्रवेश गरेका कोही एसपी, डिएसपी भएर अवकाश हुँदैछन् । सायद म पनि माथि पुग्थे होला १ ठीकै छ, जीवन त बाहिर पनि रहेछ नि त १ सङ्घर्ष गरेँ, सन्तानलाई शिक्षा र संस्कार दिए । अहिले मेरा सपनालाई सन्तानले पूरा गर्दैछन् ।”

‘छोरी चमार समुदायबाट पहिलो डाक्टर’

कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाहादुरगञ्जमा २०५६ कात्तिक ५ गते जन्मिएकी तिनै सन्तरामकी छोरी स्मृति हरिजन हाल ‘डाक्टर’ बन्नुभएको छ । उहाँ ७२औँ नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण हुनुभएको छ । यही जेठ १२ देखि १५ सम्म सञ्चालित परीक्षाबाट उहाँ उत्तीर्ण हुनुभएको हो । “छोरी डाक्टर बनेको खबर सुनेपछि खुसीको सीमा नै छैन । पत्रपत्रिकामा खबर आइरहेका छन्, विश्वविद्यालय अनुदान आयोगबाट पनि फोन आएको थियो, तपाईंकी छोरी चमार समुदायको पहिलो महिला डाक्टर बन्नुभयो भनेर”, बुबा सन्तरामले भन्नुभयो, “हुन त अन्य सन्तान पनि राम्रै छन् । तीन जनाले सधैँ उत्कृष्ट नतिजासहित उच्च शिक्षा छात्रवृत्तिमा नै पढेँ । छोरी स्मृतिको सफलताले मेरो छाति गर्वले चौडा भएको छ ।”

काठमाडौँको पेन्टागन कलेजबाट ११ र १२ कक्षा छात्रवृत्तिमा अध्ययन गर्नुभएकी स्मृतिले नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गर्नुभएको हो । उहाँ यसको सबै श्रेय आफ्नो बुबालाई दिनुहुन्छ । “आज म यहाँ एक डाक्टर र महिलाको रूपमा मात्र होइन, मेरो देशको चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा छु । यो मेरा लागि गर्व, भावुक र उत्साहित क्षण हो”, डा स्मृति भन्नुहुन्छ, “हाम्रा लागि अध्ययन, अध्ययनका रूपमा मात्रै थियो होला तर मेरो बुबाका लागि स्वाभिमान, आत्मसम्मान र मुक्तिमार्ग थियो । हाम्रै खुसीका लागि उहाँले जे गर्न सकिन्थ्यो, सबै गर्नुभयो । सङ्घर्ष गर्नुभयो । अपमान सहनुभयो । गहना बेचेर, ऋण लिएर, मजदुरी गरेर सपना बुन्नुभयो । म त त्यो सपनाको माध्यममात्रै हो ।”

उहाँले नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत ९चमार, डोम, मुसहर, वादी० दिइने छात्रवृत्तिमा अध्ययन गर्नुभएको हो । “मेरो बुबाआमाको सङ्घर्ष, मेरो मेहनत त छँदैछ, नेपाल सरकारले पनि ठूलो गुन लगाएको छ । यदि यो छात्रवृत्ति नपाएको भए सायद मेरो जीवनको मोड नै अर्को हुन्थ्यो । जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति आभार ।”

सरकारले यस छात्रवृत्तिअन्तर्गत मेडिकल कलेज शुल्क, प्रतिमहिना रु पाँच हजार खाजा र स्टेशनरी खर्च दिने गरेको छ । यसर्थ, अब आफ्नो जिम्मेवारी र दायित्व परिवारका लािग मात्र नभई आफ्नो समाज र सिङ्गो देशकै लागि थपिएको र त्यो विश्वास कहिल्यै नतोड्ने उहाँको भनाइ छ ।

डा स्मृति जात व्यवस्थामा हेयको दृष्टिले हेरिने समाजमा जन्मिएका हरेक युवाले आँटेमा हरेक कुरा सम्भव हुने भन्दै अब गुनासो गरेर बस्ने छुट कसैलाई नभएको बताउनुहुन्छ । “मैले गरिब, कथित तल्लो जात र महिला भएकैले दोहोरोतेहेरो उत्पीडन भोग्नु त प¥यो नै । चमार समुदायलाई वर्षौदेखि सस्तो श्रम र जातीय पूर्वाग्रहको चस्माबाट हेरिएको छ । त्यसैले गुनासा त छन्, समाज, सामाजिक संरचना, हाम्रो व्यवस्थाबारे, तर गुनासो गरेर पुगिने कही होइन”, उहाँले भन्नुभयो, “मैले मेरो आमाबुवा र शिक्षकहरूबाट सुनेँ, ‘शिक्षा नै शक्तिको सबैभन्दा ठूलो हतियार हो’ भनेर । त्यसैले सबै तिरस्कार, अपमान, अभाव र गुनासाहरूलाई छोडेर सपना पछ्याउन हिँडे । त्यही भएर यो स्थानमा छु ।”

उहाँ धेरै मानिसका लागि डाक्टर बन्नु व्यक्तिगत लक्ष्य भए पनि आफ्ना लागि त्यो व्यक्तिगत मात्र नभई समाजमा आशा जगाउने अभियान हो भन्नुहुन्छ । आफ्नो सफलता वर्षौंवर्षको मौनता तोड्ने, हिम्मत गर्ने, तिमी सक्दैनौँ भनेर ‘भुइँमान्छे’ लाई हेलोहोचो गर्नेहरूलाई उत्तर पनि भएको डा स्मृतिको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “मैले, हामी सक्छौँ भनेर उत्तर दिनु थियो । चुपचाप सपना देखिरहेकी चमार समुदायकी हरेक युवतिलाई भन्न चाहन्छु–तिमी जहाँ जन्मियौँ, त्यो तिम्रो दोष होइन । तिमी जस्तो रहिरहन्छौँ, त्यसको दोषी तिमी पनि हौँ । त्यसैले हिम्मत गर, तिम्रो भाग्य र भविष्य तिमीले नै निर्धारण गर्ने हो । तिमीलाई सपना देख्ने, पढ्ने, नेतृत्व गर्ने र सेवा गर्ने सम्पूर्ण अधिकार छ । बस् अब उठ, जाग ।”

अबको योजना

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार ९राष्ट्रिय जनगणना २०७८० नेपालमा १४२ जातिहरू र १२४ भाषाभाषीहरू छन् । १४२ जातिहरूमध्ये १७ औँ नम्बरमा चमार, राम र हरिजन भनेर उल्लेख छ भने यो समुदायको जनसङ्ख्या तीन लाख ९३ हजार २५५ छ । जसमा पुरुषको सङ्ख्या एक लाख ९६ हजार ७९९ र महिलाको सङ्ख्या एक लाख ९६ हजार ४६४ रहेको छ । यो समग्र जनसङ्ख्याको एक दशमलव ३५ प्रतिशत हो ।

चमारलाई दलितभित्र पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले पिछडिएको,राजनीतिक पहुँचबाट टाढा रहेको र जातीय संरचनाका कारण अत्यन्त पिँधमा रहेको जातिका रूपमा लिइन्छ ।

यसैकारण सदियौँदेखि चमार जातिले अनेकौँ सामाजिक तथा सांस्कृतिक बन्धनभित्र बसेर कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । यही समाजमा जन्मिएकाले स्मृतिको भोगाई पनि पृथक छैन । “बुबा सङ्घर्षशील भएकाले हामीले धेरै अभावको सामना त गर्नुपरेन तर समाजको संरचनाभित्र रहँदा पटकपटक अपमानको सामना गर्नुप¥यो । विगतमा मात्रै होइन, कतिपय अवस्थामा अचेल पनि जातको कुरा आएपछि अपमान भोग्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यो बन्धन, अपमान छिचोलेर यहाँसम्म पुगेकी छु, अब आफ्नो सम्पूर्ण जीवन आत्मसम्मान, समाजको हित र चिकित्सा सेवा तथा शिक्षामार्फत समाजमा जागरण ल्याउने हुनेछ ।”

बाल्यकालका धेरै अपमानका कथाहरू डा स्मृतिको मनस्पटलमा कति छन् कति । ती सबै सम्झेर साद्य छैन । चिकित्सा शिक्षा पढ्दै गर्दा भोगेको एउटा घटना भने मनमा ‘खिल’ झै गडेको छ । “चिकित्सा शिक्षा अध्ययनकै क्रममा समुदायमा अभ्यासमा गएको एकदिन एउटा घरमा बच्चालाई बिस्कुट दिए । लगत्तै उसको अभिभावकले जात सोध्नुभयो, चमार भनेपछि बच्चाले खाइरहेको बिस्कुट खोसेर फालिदिए”, उहाँले सम्झिनुभयो,“यसले निःशब्द बनायो । केही बोलिन तर आफैँसँग प्रश्न गरेँ, आखिर यसमा मेरो के गल्ती भयो रु म चमार जातिमा जन्मिनु मेरो पाप हो रु त्यो द्दटना सम्झिँदा निकै दुःख लाग्छ ।”

यसैकारण डा स्मृति आफ्नो उपलब्धिलाई केवल आफ्नो र परिवारको विषय मात्र बनाउन चाहनुहुन्न । यो आफ्नो समुदायकै आत्मसम्मानको सुरुआत हो भन्नेमा प्रष्ट हुनुहुन्छ । “यो केबल मेरो व्यक्तिगत सफलता होइन, त्यसैले अबको मेरो लक्ष्य केबल जागिर गर्ने मात्र होइन, समाजमा जागरण ल्याउने पनि हो । समाजसेवा, समान अधिकारको पैरवी, हिजो विविध कारणले हामी दबिएका थियौँ तर अब उठका छौँ भनेर संसारलाई भन्नुछ”, उहाँको कथन छ ।

बुबा सन्तराम पनि पढाई र विभिन्न समस्यामा घर, जग्गा, सम्पत्ति बन्धकी राखेर लिएको करिब रु ४० लाखको हिसाबकिताबमा कम, आफूजस्तै अरु छोरीहरूमा शिक्षा र चेतनाको ‘भोग’ जगाउनमा बढि लागेको देख्ने चाहना सुनाउनुहुन्छ । “अब घरको जिम्मेवारी बाँडिएको छ । माइली छोरी, छोरा र स्मृतिले पनि त्यो जिम्मेवारी उठाउलान् । त्यसैले चिन्ता घटेको छ । अब मेरा सन्तानले समाजका लागि केही गर्छन् कि गर्दैनन् भनेर अर्को चिन्ता थपिएको छ । त्यसका लागि पनि म उत्प्रेरक बनिरहने छु”, उहाँले भन्नुभयो ।

चिकित्सा शिक्षा अध्ययनमा प्रत्यक्ष जोडिनुभएका जानकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा धर्म सुवेदी पनि राज्य र आफूहरूले दिएको अवसरलाई स्मृतिले समाज र देशको हितमा लगाउने अपेक्षा रहेको बताउनुहुन्छ । “उहाँमाथि अभिभावक मात्रै होइन, राज्यले ठूलो लगानी गरेको छ । हाम्रो योगदान पनि त्यत्तिकै छ । त्यसैले अब स्मृतिले आफूजस्तै सीमान्तकृत समुदायको हितमा पनि काम गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । रासस