काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन नसकेको बताउनु भयो । नेपालको विकास र समृद्धिका लागि गेम चेन्जर आयोजनाको रुपमा हेरिएका कर्णालीको चिसापानी आयोजना, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र हुलाकी राजमार्ग दशकौंसम्म पनि सम्पन्न नहुनु देशको कार्यकारी संरचनाको असफलता भएको शर्माको भनाइ छ । उहाँले संस्थागत सोच, कार्यसंस्कृति र नेतृत्व क्षमताको अभावले देशलाई पछाडि पारेको उल्लेख गर्दै कार्यकारी संयन्त्रमा सुधार नगरी विकास सम्भव नहुने जिकिर गर्नुभयो ।
उपमहासचिव शर्माले भन्नुभयो, ‘नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठुलो कारक तत्वको रुपमा मुलुकको विकास निर्माणका लागि स्थापना भएका कार्यकारी संयन्त्रअन्तर्गतका संस्था र संस्थागत संरचना नै हो । मेले यहाँ भन्न खोजेको कुरा के हो भने कुनैपनि देशको विकास र समृद्धि ती देशका कार्यकारी संस्था र संस्थागत प्रभावकारितामा भर पर्दछ । यस हिसाबले नेपाल एक असफल राष्ट्र हो । उदहारणका लागि विकास र समृद्धिका लागि गेम चेन्जरका रुपमा हेरिएको कर्णालीको चिसापानी आयोजनामा ३५ वर्ष बितिसक्दा पनि केही काम हुन सकेको छैन । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २८ वर्षसम्म पनि खासै केही काम भएको छैन । जम्मा ११०० किलो मिटरको हुलाकी राजमार्ग दशकौँ बितिसक्दा समेत सम्पन्न गर्न सकेका छेनौं । आखिर यी सबै असक्षमताहरु देशको कार्यकारी संरचनाभित्र जिम्मेवार संस्था र संस्थागत संरचनाको असफलता नै हुन् ।’
उहाँले मुलुकको विकासलाई गति दिन सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध दृढ संकल्पसहित समर्पित नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । संविधान संशोधन कार्यान्वयनमार्फत मुलुकको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका कामकारबाहीलाई जनताको अधिकारमा प्राप्तिमा केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ ।










