५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन



अ+ अ-

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

उहाँले आज धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्ति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा उक्त नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडामा निजी विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीको नाम देखाएर तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला परेको बताउनुभयो । विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक विद्यालयलाई सरकारले आवश्यक छात्रवृत्ति र खाजा खर्च उपलब्ध गराउने गरेको छ ।

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजालगायत विभिन्न छ–सातवटा शीर्षकमा सरकारबाट प्राप्त रकम दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापन सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीका माग गर्नुभयो ।

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएकाले यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिनुभयो ।

यसैगरी मुख्यमन्त्री सिंहले आजै सोही नगरपालिका–८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ । विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै उहाँले व्यवस्थापनका लागि तत्काल पहल गर्न नगर उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराउनुभयो ।

उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण गरिने जानकारी गराउनुभयो । मधेश प्रदेश, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका एक सय ३६ वटै पालिकालाई एक महिना अगाडि पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन सुझावसहित ध्यानाकर्षण गराएको थियो । रासस