२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारले नागरिकका नाममा लगानी गर्ने



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत् परियोजनामा नागरिकका नाममा लगानी गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा आज यहाँ आयोजित प्रदेशको ‘समृद्धिका लागि जलस्रोत एवं ऊर्जा’ विषयक कार्यशाला गोष्ठीमा उहाँले प्रदेश सरकारले नीति एवं कानुन निर्माण गरी कोषमार्फत यस क्षेत्रका गरिबीका रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेश सरकार यस क्षेत्रका जनतालाई धनी बनाउने र ठूलठूला परियोजनामा नागरिकलाई प्रत्यक्ष सहभागी बनाउने काम गरिरहेको छ ।

उहाँले सुनसरी, मोरङ, झापा र इलामको दक्षिण क्षेत्रको महत्त्वपूर्ण योजना ‘तमोर चिसाङ डाइभर्सन’ रहेको र यसमार्फत यहाँका नागरिकले विद्युत्, खानेपानी, सिँचाइ प्राप्त गर्नुकासाथै पर्यटक आवागमन वृद्धि हुने भएकाले निर्माण चाँडै अगाडि बढाउने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत् परियोजनाका निर्माणका लागि बाटो निर्माण, जग्गा प्राप्तिलगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरुले सहजीकरण गर्न आग्रह गर्नुभयो ।

प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले चैते धान उत्पादन वृद्धिका लागि सिँचाइको प्रबन्ध गरिरहेको बताउनुभयो । उहाँले सिँचाइका लागि प्रदेश सरकारले मोरङ, सुनसरी, झापा र इलाममा ८०० स्यालो ट्युबवेल वितरणको योजना रहेको जानकारी दिनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशमा निर्माण हुने जलविद्युत् परियोजना छिटो सम्पन्न गर्न पार्टीले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

पार्टीका ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख मोहनकुमार डाँगी, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जलस्रोतको विकासले मुलुकमा समृद्धि र रोजगार सिर्जना हुने धारणा राख्नुभयो ।

कार्यक्रममा विभाग प्रमुख डाँगीले कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र ऊर्जा, विभागका सचिव पुष्पज्योति ढुङ्गानाले जलविद्युत् उत्पादनमा प्रदेश सरकारको सहजीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रअनुसार कोशी प्रदेशमा विभिन्न ४१ वटा निर्माणाधिन जलविद्युत् परियोजनाबाट दुई हजार ३६५ मेगावाट विद्युत् उत्पादन हुनेछ । रासस