२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय



अ+ अ-

काठमाडौं । गत शुक्रबार अर्थात चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले नलिने उहाँको सचिवालयले जनाएको छ ।

पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले मंगलबार न्यूज पोलारसँग कुरा गर्दै चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको जिकिर गर्नुभएको हो । ‘जसले प्रदर्शन गरेको हो, उही घटनाको जिम्मेवार हुन्छ’, उहाँले भन्नुभयो ।

तीनकुनेको प्रदर्शन नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुन: स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको थियो । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।

डा. पाठकले काठमाडौं महानगरपालिकाले गरेको जरिवाना पनि पूर्वराजाले नतिर्ने बताउनुभएको छ । त्यस दिन गरिएका फोहोर र क्षतिका लागि काठमाडौँ महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्दै पत्र लेखिसकेको छ ।

‘त्यस दिन कार्यक्रमका लागि जिल्ला प्रशासनले फलानोलाई स्वीकृति दिने, त्यहीअनुसार कार्यक्रम गर्ने, अनि जिम्मेवारी राजालाई आउने हुन्छ र’, पाठकले भन्नुभयो, ‘त्यस्तो पनि अनुसन्धान हुन्छ र ! उहाँ (काठमाडौँका मेयर) ले रिअलाइज गर्नुहोला, करेक्सन गर्नुहोला। मिस्टेक भयो भने करेक्सन हुन्छ ।’

तीनकुने हिंसाको अघिल्लो दिन पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निर्मल निवासमै बोलाएर भेटेको भन्ने आरोपमा भने उहाँले आफूलाई थाहा नभएको बताउनुभयो ।

संवाद सचिव पाठकले फागुन २५ गतेको कार्यक्रम मात्र पूर्वराजा शाहको भएको जिकिर गर्नुभयो । त्यस दिन झन्डै १ महिनाको भ्रमणपछि पोखराबाट फर्किएका पूर्वराजा शाहलाई राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईं समूहलगायत राजावादीले भव्य स्वागत गर्दै गणतन्त्रविरुद्ध नारा लगाएका थिए ।