२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण



अ+ अ-

मुस्ताङ । दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो ।

कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकिरहेको छैन ।

श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजन बताउँछन् । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौँको भौतिक क्षति पुर्‍याएको थियो ।

जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । उहाँका अनुसार कागखोलाको धारलाई नियन्त्रणमा राखिए पनि श्राद्धस्थलको भौतिक संरचना दिगो रूपमा व्यवस्थापन हुन सकिरहेको छैन ।

यसैबीच, शनिबार यहाँ श्राद्ध गर्न आउनुभएकी म्याग्दीको बेनी नगरपालिका–९ का ५३ वर्षीया सीता शर्मालाई कालीगण्डकी नदीले बगाएको छ । कागखोला र कालीगण्डकी नदीको दोभानमा स्नान गरिरहेको बेला उहाँ अचानक चिप्लिँदा करिब ६० मिटर तलसम्म खोलाले बगाएको थियो ।

चिप्लिएर खोलाले बगाएपछि उहाँको उद्धारका लागि गएका अर्का एकजनालाई पनि कालीगण्डकी नदीले केही तलसम्म बगाएपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएपछि शर्माको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।

यहाँको श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चाँसो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुःखेसो गर्नुभयो । कागबेनीमा बाढीले क्षति पुर्‍याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“अहिलेसम्म समिति र स्थानीयवासीको सहयोगमा स्थानीयस्तरबाट अस्थायी व्यवस्थापन र संरक्षण गर्दै आइरहेका छौँ, हामीसँग सीमित स्रोतसाधन भएकाले दीर्घकालीन संरक्षण र व्यवस्थापन सम्भव छैन”, अध्यक्ष गुरुङले भन्नुभयो, “कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा सरकारले दीर्घकालीन समाधानसहित योजना अघि बढाउनु पर्दछ । यहाँ लाखौँ भक्तजन आउने भएकाले यस क्षेत्रलाई जोखिममुक्त गराउनु जरुरी छ ।”

अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताउनुभयो । श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

बर्सेनि बर्खायाममा कागखोला र कालीगण्डकीले धार परिवर्तन गर्दा यहाँको श्राद्धस्थल र स्नानस्थलको भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ । यसैबीच, समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने भक्तजनलाई स्नान र श्राद्ध गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

कागबेनीधामलाई केही फराकिलो र सहज तुल्याउन समितिले खडा गरेको एक दर्जनबढी व्यावसायिक अस्थायी टहरालाई केही पर स्थान्तरण गरिसकिएको समितिकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाले कपडा फेर्नेस्थान र गाउँपालिकाले शौचालय निर्माण गरेको छ ।

सरकारले अहिलेसम्म कागबेनीधाममको संरक्षण र व्यवस्थापनका लागि बजेट विनियोजन नगरेको अध्यक्ष गुरुङले बताउनुभयो । बर्सेनि बडादसैँ र चैतेदसैँको औँसीमा नुहाउन लाखौँ श्रद्धालु भक्तजन कागबेनी आउने गर्छन् । “यस वर्षको चैतेदसैँको औँसी नजिकिँदै गर्दा पनि हालसम्म तीनै तहका सरकारले यस क्षेत्रलाई व्यवस्थापन गर्न नसक्दा जोखिम मोलेर श्राद्ध र स्नान गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

बारागु मुक्तिक्षेत्र–४ कागबेनीधाममा कागभुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागखोलामा स्नान गरेको भन्ने धार्मिक किंबदन्ती छ । यही कारण देशभरबाट बर्सेनि लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन यहाँ आएर पितृको नाममा श्राद्ध गर्ने, तर्पण दिने र कालीगण्डकी दोभानमा स्नान गर्दा दिवङ्गत पितृ खुसी भई आर्शिवाद दिने धार्मिक विश्वास रहिआएको छ । रासस




भर्खरै