२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी



अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा रु दुई लाख आम्दानी गरेका हुन् ।

“बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना सुन्तला अझै बोटमा राखेका छौँ,” मैनाले भन्नुभयो, “जुस खानका लागि दैनिक ५० जनासम्म पर्यटक यहाँ आउनुहुन्छ ।” बेमौसममा सुन्तलाको जुस सानो गिलासको रु दुई सय ५० र ठूलो गिलासको तीन सय ५० का दरले बिक्री हुने गरेको उहाँको भनाइ छ ।

आफ्नै बगैँचाको एक सय बोट र छिमेकीको बोटमा बाँकी रहेका सुन्तलालाई टिपेर बोक्रा छोडाइ उपकरणको सहायताले रस निकालेर बिक्री गर्दै आएको मैनाले बताउनुभयो । “उपकरणले गेडा र छोक्रालाई एकातर्फ फाल्छ भने रसलाई भाडामा खसाल्छ”, उहाँले भन्नुभयो ।

मुस्ताङको घाँसाबाट पदयात्रा गरेर म्याग्दीको तातोपानी आउने क्रममा बेमैसमको सुन्तलाको ताजा र स्वादिलो जुस उपभोग गर्न घरापमा विश्राम गरेको काठमाडौँका जनार्दनदेव पन्तले बताउनुभयो ।

जुस बनाउन थालेपछि साना दाना भएका कारण बिक्री नभएका सुन्तला खपत भएको प्रेमले बताउनुभयो । खेर जाने सुन्तलाबाट जुस बनाएर अतिरिक्त आम्दानी भएको भन्दै अन्य क्षेत्रमा सुन्तला सकिए पनि यहाँका बगैँचामा साना दानाका चैत महिनासम्म रहने उहाँले जानकारी दिनुभयो ।

ठूला दाना माघमा टिप्ने घरापका किसानले साना दानालाई जुस बनाउन चैतसम्म राख्ने गरेका छन् । सुन्तला भण्डारण गर्ने चिस्यान गृह र प्रशोधन गरेर जुस बनाउने उपकरण तथा सीपमूलक तालिम आवश्यक परेको यहाँका किसान बताउँछन् । घरापमा २० परिवारको बसोबास छ । अधिकांशले सुन्तलाखेती गरेका छन् ।

रोजगारीका लागि मलेसियामा दुई वर्ष बिताएर फर्किएका ४९ वर्षीय प्रेम र उहाँकी श्रीमती मैनाले घरापमा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गर्नुभएको छ । अन्नपूर्ण आधार शिविर, मुस्ताङ जाने–आउने र नारच्याङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालित होटलमा दैनिक ३० जनासम्म बास बस्न सक्ने क्षमता रहेको प्रेमले जानकारी दिनुभयो ।

तिलिजा दम्पतीले सञ्चालन गरेको न्यु कालीगण्डकी रेष्टुरेन्ट एण्ड लजमा शान्त र एकान्त वातावरणमा रमाउन पाइनुका साथै लोकल कुखुरा, हाँस र बङ्गुरको मासु, साग, सुन्तलाको जुस, कोदोको ढिँडोलगायत परिकार पाइन्छन् । उहाँका अनुसार होटलमा दुई जनाले रोजगारी पनि पाएका छन् ।