८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गोर्खाबाट पूर्वराजाले दिन खोजेको सन्देश के ?

गोर्खाबाट पूर्वराजाले दिन खोजेको सन्देश के ?
अ अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार शाहवंशीय राजाहरूका कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन र पूजा आजा गरे । राजतन्त्र अन्त्य भएपछि पूर्वराजा शाह पहिलो पटक गोर्खा पुगेर पूजाआजा मात्र गरेनन् अर्थपूर्ण अभिव्यक्ति दिनसमेत भ्याए ।

पूर्वराजा शाहले एक जना सञ्चारकर्मीसमक्ष भने– ‘कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् भन्ने मेरो कामना छ ।’ उनले भनेका अगाडि भने–‘कोही पनि केही गर्न डराउनु पर्दैन । देशमा शान्ति कायम होस् । देशमा विकास होओस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना गर्दछु ।’

प्रजातन्त्र दिवसको अवसर पारेर गत फागुन ६ गते पूर्वराजा शाहले अब आफूलाई सहयोग गर्न आग्रह गर्दै सन्देश जारी गरेका थिए । पूर्वराजाको सन्देशपछि राजावादीहरु सक्रिय भएका छन् । राजसंस्था पुनस्र्थापनाका लागि पूर्वराजावादीहरु एकजुट भएर सडकमा निस्किन थालेका छन् । पोखराबाट फर्किंदा पूर्वराजाको स्वागतमा काठमाडौंमा देखिएको विशाल भीडपछि उनी थप उत्साहित भएका छन् । राजाको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । राजतन्त्र स्थापनाको संकल्पसहित नागरिकहरु सडकमा आउने क्रम जारी छ । यो अवस्थामा पूर्वराजाले आफ्ना गतिविधि बढाउँदै लगेका हुन् ।

जनतामाझ पुग्न कुनै न कुनै बहाना चाहिन्छ । अहिले पूर्वराजा ज्ञानेन्द्रले पनि शाहवंशीय राजाहरुका कुलदेवता मानिने गोरखकाली र गोरखनाथको मन्दिर दर्शनलाई बहाना बनाएर गोरखा पुगेका हुन् । उनको उद्देश्य पूजाआजामा मात्र सीमित देखिएको छैन । जनताको चाहना बुझ्न समेत खोजेको देखिन्छ । उनी गोर्खा पुगेका बेला ठूलो संख्यामा नागरिकको साथ र समर्थन पाएका छन् । जबकी उनी २०६२ सालपछि गोर्खा गएकै थिएनन् । २०६२ सालमा नागरिक अभिनन्दनका क्रममा उनी पुगेका थिए ।

झन्डै दुई दशकपछि गोर्खा पुगेका पूर्वराजा शाहले मन्दिरमा पूजाअर्चनाका लागि झण्डै दुई घण्टा समय बिताए । जबकी विगतमा उनले पूजा सामग्री मात्र पठाउने गरेका थिए । तर यस पटक आफैं गोर्खा पुगेर कुलदेवताको पूजाअर्चना गर्न भ्याए ।

पुख्र्यौली थलोमा आउन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया शाहले दिएका छन् । कुलदेवताको पुजाआजा सकेर फर्कने क्रममा उनले सञ्चारकर्मीमार्फत सन्देश दिएका हुन् । त्यो सन्देशमा देशमा शान्ति नभएको, कोही पनि केही गर्न डराउनुपर्ने अवस्था नभएको भन्दै अहिले देशको अवस्थाप्रति कटाक्ष गरेका हुन् । उनले आफूलाई सहयोग गर्न फागुन ६ गते गरेको आह्वानलाई बल पुग्ने गरी देशमा शान्ति कायम नभएको बताए । यसको अर्थ उनी अब चुप लागेर बस्ने अवस्थामा छैनन् ।

त्यसो त पूर्वराजा शाह बेलाबेलामा शक्तिपीठको दर्शन र पूजा आजा गर्न गइनै रहेका हुन्छन् । तर यो पटक गोर्खामा पुगेर कुलदेवताको पूजा गर्नुको अर्थ उनी अब आफ्नो रणनीतितर्फ अगाडि बढ्न खोजेको देखिन्छ । राजावादीहरुले सुरु गरेको आन्दोलनलाई बल पुर्‍याउन र जनतालाई आफ्नो पक्षमा लाग्न उत्साहित बनाउन उनले गोर्खालाई रोजेका हुन् ।

पछिल्लो समय राजतन्त्रप्रति जनलहर बढेको छ । एकातिर राजसंस्था स्थापनाको माग गरेर सडक प्रदर्शन हुने गरेको छ । अर्कोतिर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको वकालत गर्ने दलहरु आरोप प्रत्यारोपमा छन् । एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । सरकारमा रहेका दलहरुले विपक्षीलाई खुइल्याउने र विपक्षमा रहेका दलहरु सरकारलाई भ्रष्टाचारी करार गर्न उद्दत छन् । जनतामा निराशा व्याप्त छ । रोजगारीका अवसर सिर्जना छैनन् । संघीयताप्रतिको वितृष्णा बढ्दो छ । सरकारमै रहेका दलहरुका फरक फरक अभिव्यक्ति छन् । एउटै दलभित्र पनि कुनै पनि विषयमा समान धारणा छैन । विकास र समृद्धिको सपना केबल भाषणमा सीमित छ । जनतामा देखिएको निराशाको फाइदा राजतन्त्रवादीहरुले लिने प्रयासमा लागेका छन् ।

पूर्वराजाको सक्रियतापछि गणतन्त्रवादी दलहरुलाई चस्का परेको छ । विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु दिनदिनै जसो पूर्वराजाको आलोचना गरिरहेका छन् । कतिसम्म भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले त सडकमै उत्रिने घोषणा गरिसकेका छन् । एमालेले चैत ११ गते देशभर जनजागरण अभियान सञ्चालन गर्दै छ भने नेकपा माओवादी केन्द्र तराई मधेश केन्द्रित हुलाकी राजमार्ग अभियानमा छ । उनीहरुको भय राजसंस्था स्थापना भयो भने आफूहरु फेरि लुकेर बस्नुपर्ने अवस्था आउन सक्नेमा छ ।

शाहवंशीय राजाको पूर्वजको थलो गोर्खा नै हो । गोर्खाका राजा पृथ्वीनारायण शाहले नै नेपाल एकीकरण गराएका हुन् । पृथ्वीनारायणले एकीकरण गर्न निस्कनु अघि आफ्ना कुलदेवताको पूजाआजा गरेको र त्यहिँबाट आशिर्वाद लिएर सफलता हासिल गरेको विश्वास लिइन्छ । त्यही कारण पनि पूर्वराजा ज्ञानेन्द्रले आफ्नो अभियानका लागि गोर्खामा पुगेर पूजाआजा गरेको हुनसक्ने देखिएको छ ।

गोर्खाका तत्कालीन राजा पृथ्वीनारायणले जसरी नेपाल एकीकरण गरेर अनेकौं जातजाती, भाषाभाषीलाई एकताको सूत्रमा बाँधेका थिए । त्यसरी नै पूर्वराजा ज्ञानेन्द्रले पनि गोर्खा पुगेर देशमा केही हुन नसकेको सन्देश दिँदै आफ्नो पक्षमा जनमत पार्न खोजेको स्पष्ट छ ।