६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला



अ+ अ-

सुनसरी। जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो ।

रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आउनुभएकामा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गर्नुभएको छ । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घसंस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मैले महिलालाई ढकिया बुन्ने तालिम दिँदै आएको छु । महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिला सभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।”

ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाह, पाटीलगायत कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगषर बन्दै गएका सङ्गीताले बताउनुभयो । पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै उहाँले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्न तालिम दिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।

सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ बनेका ढकिया दमक, झापा काठमाडाँै, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उहाँले भन्नुभयो, “यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च टार्न र महिलाका निजी आवश्यकता पूरा गर्न पुग्छ ।’

ढकिया बुन्ने तालिमपछि यहाँबाट प्रशस्त आम्दानी गर्न सकिने रहेछ भनेर मलाई आत्मविश्वास बढेको छ रामधुनी–५ का निलम चौधरीले बताउनुभयो । “पहिले मलाई ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन । पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेकी हुँ ।”

आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ । उहाँका अनुसार रु पाँच सयदेखि रु चार हजारसम्ममा ढकिया बिक्री हुने गर्दछ ।

सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाउनुभयो । “यसका बारेमा केही ज्ञान पेसा पुर्खाहरूबाट जानेकी थिएँ । यो हाम्रो संस्कृतिसँग पनि जोडिएकाले यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी हुँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा यहाँ महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ । यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उहाँको भनाइ छ ।

कञ्चनले महिनामा १० वटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गर्नुभयो । “बढी माग हुँदा रातभर बुनेर पूरा गर्नुपर्छ । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव भने हुँदैन । ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिन्छ । दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ढकियामा धागो, मोती, कासको प्रयोग हुन्छ ।

धागो र मोती हामीले खरिद गर्नुपर्छ । कास भने कोशी किनारमा प्रशस्त पाउन सकिन्छ । त्यहीँबाट लिएर आउने गरेका छौँ”, कञ्चनले भन्नुभयो । यस सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको अनुभव छ । अहिले रामधुनी–५ मा मात्रै ढकिया बुन्ने महिला एक दर्जन बढी छन् । रासस