काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। वडाध्यक्ष प्रताप लामाका अनुसार एक जनाको शव फेला परेको हो भने अन्य पाँच जनाको उद्धार भएको छ।
'अहिले एक जनाको शव फेला परेको छ। चार जनालाई जिल्लाको चौतारा अस्पताल पठाइएको छ भने एक जनालाई काठमाडौं लगिएको' उनले भने ।
मृतकको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी माधव काफ्लेका अनुसार घाइते हुनेमा एक बालक, दुई महिला र दुई पुरूष छन्।
घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।
यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। पहिरोमा अझै ३६ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ।
यसैबिच सभामुख अग्नी सापकोटाको टोली लिदीमा पुगेको छ ।

















