२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
अ अ+ अ-

रामपुर, (पाल्पा) । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।

एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउनुुहुन्छ । उहाँले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाउनुभएको छ ।

“शनिबार र आइतबार दुई दिनसम्म १६/१७ जनाले आलु खन्ने काम भएको छ”, उहाँले भन्नुभयो, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उहाँले यस पटक चार क्विन्टल आलु लगाउनुभएको छ । उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित हुनुहुन्छ । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उहाँको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गर्नुभएका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आउनुभएको छ । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उहाँले बताउनुभयो ।

“आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उहाँले भन्नुभयो ।

उहाँले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्नुहुन्थ्यो । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थाल्नुभएको छ । रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उहाँले व्यावसायिक उत्पादनमा जोड दिनुभएको हो । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताउनुभयो ।

आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उहाँको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् ।

यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ ।

रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहनुभएको छ । उहाँले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राख्नुभएको छ । रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् ।
रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् । रासस