काठमाडौं । राजावादीहरुले गरेको शक्ति प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाह हौसिएका छन् । जबरजस्ती सत्ताबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र पुन: शक्ति आर्जन गर्दै राजगद्धी समाल्ने योजनामा छन् । उनले पछिल्लो समय त्यसको प्रयासस्वरुप जनतालाई उकास्ने काम गरिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शानका साथ सडकमा उत्रिएका छन् । त्यही बेला गणतन्त्रवादी नेताहरु भने उनको अभियानलाई लिएर आक्रमक ढंगले प्रस्तुत हुन थालेका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरु शाहको सक्रियतालाई लिएर एकठाउँमा आएका मात्रै छैनन्, एउटै आवाजमा प्रतिरोधसमेत गरिरहेका छन् ।
गणतान्त्रिक व्यवस्थामा सत्ता सञ्चालन गर्दै आएका दलका नेताहरु भने आरोप प्रत्यारोपमा छन् । सडकदेखि सदनसम्म सत्ता र प्रतिपक्षका नेताहरुले दिइरहेका अभिव्यक्तिले मुलुक संकटमा पर्न लागेको त होइन भन्ने आशंका भइरहेका बेला पूर्वराजाका गतिविधिले नागरिकको मनमा थप प्रश्न उब्जिएको छ ।
राजावादीहरुले आइतबार राजधानीमा निकै ठूलो प्रदर्शन गरे । तीन महिनादेखि राजधानी बाहिर रहँदै आएका पूर्वराजा शाहलाई स्वागत गर्न विमानस्थलमा पुगेका राजावादीहरुको ठूलो समूह देखेपछि पूर्वराजा ज्ञानेन्द्र पक्कै पनि हौसिएका होलान । नहुन पनि किन ? उनलाई जननिर्वाचित संविधानसभाले सत्ताबाट हराएको थियो । तर अहिले देशभर विस्तारै माहोल बन्न थालेपछि उनी हौसिएका हुन् ।
गणतन्त्र स्थापनाको दुई दशक नहुँदै किन प्रश्न उठ्यो भन्ने कुरा बुझ्न आवश्यक छ । सरकारको अस्थिरता, सुशासन र डेलीभरीका मुद्दामा राजनीतिक दलहरु गम्भीर नबन्दाको परिणाम नै राजावादीहरु हौसिएका हुन् । दलहरुले गल्ती दोहोर्याउँदै जाने हो भने समस्या झन् बढ्न सक्छ । सरकारले सुशासन र न्यायपूर्ण काम गर्न सक्नुपर्छ । काम गर्ने मात्र होइन, समान सहभागिताको विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।
पूर्वराजा कसैको उक्साहटमा हौसिएको पनि हुनसक्छ । तर पूर्वराजा हौसिएर मात्र केही हुँदैन । जनताले समर्थन नगर्ने हो भने सबै कुरा पानीको फोका बराबर हुने छन् । तर त्यसभन्दा अघि नै दलहरुले बुझ्नु्पर्ने कुरा के छ भने जनताले के पाए ? राजतन्त्र हुँदा नपाएको कुरा संघीय लोकतान्त्रिक गणतन्त्रमा के के पाए ? प्रधानमन्त्री र मन्त्रीहरु मात्र फेरिएकी प्रवृत्ति पनि फेरियो भन्ने दलहरुले बुझ्नु्पर्छ । अन्यथा गणतन्त्र देखाएर मात्र केही हुने छैन ।
राजावादीहरुको अभियानमा सडकमा देखिएको नागरिकको असन्तुष्टि भने मुलुकमा व्याप्त कुशासन र देशको बिग्रको अवस्थाको कारण नै हो । एउटै व्यक्ति लामो समय शासनमा बस्ने, देशको आर्थिक सबल हुन नसक्ने, सुशासन कायम नहुने, युवा पंक्ति विदेश पलायन हुने जस्ता कारणले पनि सडकलाई मलजल गरेको छ । आम नागरिकले नेता र दलको विकल्प खोले पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ’
प्रमुख राजनीतिक दलका नेताहरु सत्ता प्राप्तिका लागि व्यवस्थाविरोधी शक्तिलाई समेत भित्रभित्र मलजल गरिरहेका छन् । यसको असन्तुष्टि कहिले बालेन भएर प्रस्फुटित भएको छ त कहिले गोपी हमाल र हर्क साम्पाङ भएर प्रस्फुटित भएको छ । अहिलेको असन्तुष्टि ज्ञानेन्द्र शाह भएर प्रस्फुटित भएको हो । राज्यशक्ति कमजोर भएका बेला जनताले निराशाको फाइदा मात्र उठाएका हुन् ।
२०४८ सालदेखिकै राजनीतिक दलको नेतृत्व नै सत्ताको केन्द्रमा रहने, सरकारमा गएपछि जनअपेक्षाको कामभन्दा पनि बरालिएर व्यक्ति र दलको स्वार्थमा अघि बढ्ने जस्तो प्रवृत्तिले आम नागरिकमा नैराश्यता बढाएको छ । यस्तो प्रवृत्तिबाट सच्चिन नेताहरुलाई खबरदारी गर्ने काम भने राजावादीहरुले गरेका छन् । अब राजावादीहरुको शक्ति कमजोर बनाउन दलहरुले बोली मात्र होइन, व्यवहारमै परिवर्तन गर्न आवश्यक छ ।










