२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ– राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । 

मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या आउन नदिनका लागि राज्यले स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिनुभयो । 
    
‘शक्ति समूह र एट्विन’ नामक संस्थाले आज प्रस्तुत गरेको घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबारे गहिरो गरी अध्ययन गरेर कारण पत्ता लगाई राज्यले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या सदाका लागि समाधान गर्नुपर्छ ।” 

उहाँले आर्थिक, सामाजिक, बेरोजगारी, शैक्षिक वा चेतनाको कमीले पनि महिला वैदैशिक रोजगारीमा जान बाध्य हुनसक्ने भन्दै त्यसबारेमा राज्यले अध्ययन गरी प्रभावित जिल्लामा आत्मनिर्भर हुनेगरी रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । 
    
राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारी र मानव बेचबिखन सम्बन्धमा भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको सन्दर्भ उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    
उहाँले वैदेशिक रोजगारीमा जाने क्रममा नेपाली महिलाले भोगिरहेको समस्या महिलाको मात्रै समस्या नभएर सिङ्गो राष्ट्रको समस्या भएको बताउँदै राष्ट्रपति भण्डारीले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रममार्फत वैदेशिक रोजगारीबाट प्रभावित महिलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीका क्रममा महिला प्रभावित हुनुपर्ने समस्या राष्ट्रको प्रतिष्ठामा आँच आउने विषय भएकाले उद्धार र पुनःस्थापना गर्नुपर्ने परिस्थिति नै आउन नदिन यसलाई राज्यले नै गम्भीरतापूर्वक समाधान गर्नुपर्छ ।” 

सोही अवसरमा शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले वैदेशिक रोजगारीका क्रममा बेचबिखन प्रभावित महिलालाई पनि ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रममा समावेश गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्नुभयो । 

यही फागुन २९ र ३० गते काठमाडौँमा सम्पन्न भेलाले २९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा भनिएको छ, “मानव बेचबिखनबाट प्रभावितको उद्धार, स्वदेशफिर्ती, पुनःस्थापना र पुनर्मिलनसम्बन्धी कानून, निर्देशिका र कार्यविधिको अभावमा अभाव भइरहेको छ, त्यसको निर्माण र कार्यान्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग भेलाले माग गर्दछ ।”