१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि सुनक बन्न सक्छन् बेलायतका प्रधानमन्त्री



अ+ अ-

लण्डन । कोरोना लकडाउनका बेला रक्सी पार्टी गरेपछि नराम्ररी फँसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामा दिन दबाब बढ्दै गएको छ । बोरिसलाई उनको कुर्सीबाट हटाउन सकिने बताइएको छ । बेलायतका धेरै सांसद र विपक्षी नेताहरूले बोरिसको राजीनामा माग गरिरहेका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार यदि बोरिसले पद छाडे भने उनको स्थानमा बेलायतका अर्थमन्त्री ऋषि सुनक देशको प्रधानमन्त्री बन्न सक्नेछन् । उनी भारतीय उद्योगपति नारायण मूर्तिका ज्वाइँ हुन् । 

वास्तवमा प्रधानमन्त्री बोरिस जोनसनले देशमा कोरोना भाइरसका कारण लागू गरिएको लकडाउनका क्रममा सन् २०२० मा बगैँचा पार्टीमा भाग लिएकामा माफी मागेका छन् र केही कुराहरू आफ्नो सरकारको ‘ठीक नभएको’ बताएका छन्। लकडाउनको समयमा प्रधानमन्त्रीको डाउनिङ स्ट्रीट निवासको बगैँचामा पार्टी गरेर उनी र उनका कर्मचारीहरूले महामारीको प्रतिबन्धलाई बेवास्ता गरेको भनी बोरिसले जनता र राजनीतिज्ञहरूको आक्रोशको सामना गरिरहेका छन्।

यसैबीच बेलायतको एक प्रमुख सट्टेबाज कम्पनी ‘बेटफेयर’ले सङ्कटमा परेका बोरिस जोनसनले छिट्टै प्रधानमन्त्री पदबाट राजीनामा दिने र उनको स्थानमा भारतीय मूलका अर्थमन्त्री ऋषि सुनक आउन सक्ने दाबी गरेको छ । बेटफेयरका अनुसार ५७ वर्षीय जोनसनलाई रक्सी पार्टीको खुलासाका कारण विपक्षी दलबाट मात्र नभई आफ्नै पार्टीबाट पनि राजीनामा दिन दबाब बढिरहेको छ। बेटफेयरका साम रोसबोटमले जोनसन फिर्ता भएमा ऋषि सुनक प्रधानमन्त्री हुने सम्भावना बढी रहेको बताए ।

यसपछि प्रधानमन्त्री दावेदारमा लिज ट्रस (विदेशमन्त्री) र त्यसपछि माइकल गोभ (क्याबिनेट मन्त्री) छन्। रसबोटमले पूर्व विदेश सचिव जेरेमी हन्ट, भारतीय मूलका गृहमन्त्री प्रिती पटेल, स्वास्थ्यमन्त्री साजिद जाविद र क्याबिनेट मन्त्री ओलिभर डाउडेन पनि दौडमा रहेको बताए।

धेरै मानिसहरूलाई जोनसनका तर्फबाट प्रमुख निजी सचिव मार्टिन रेनोल्ड्सले पार्टीका लागि पत्र पठाएको बताइएको छ। तर त्यसबेला देशमा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको थियो । यो प्रकरणलाई ‘पार्टीगेट’ भनिएको छ र यो जोनसनको झण्डै साढे दुई वर्षको सत्तामा सबैभन्दा ठूलो सङ्कटका रूपमा देखा परेको छ। एजेन्सी