काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोईरालाले नेपाली काँग्रस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले काँग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको अनुमान गरेका थिए ।
सांसद कोईरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभइ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताउनु भयो ।
यस्तै, नेता कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताउनु भयो । तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘नेपाली काँग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली काँग्रेसका धेरै कार्यकर्ताहरुको इच्छा छ । ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरुको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ । नेपाली काँग्रेसमा ग्रुपिजमहरु छ । अधिवेशनको बेलामा प्यानलहरु बन्छ तर यो कुराहरु अहिले धेरै छिटो भयो भन्ने लाग्छ । मैले त्यसरी भन्न खोजेको होइन । हामी एमाले र नेपाली काँग्रेसको सरकार छ । करिव करिव दुई तिहाईको सरकार छ । दुई तिहाईको सरकार चलाउँदा नेपाली काँग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिष्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरु मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ति साथीहरुले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छाँै तर बाहिर छौँ । हामी प्रतिष्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’
सांसद कोईरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताउनु भयो ।










