२ पुष २०८२, बुधबार
,
Latest
कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै धर्म,सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति



अ+ अ-

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

“जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि “परोपकार पुण्याय, पापाय परपीडनम ।”

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नै पनि बताउनुभयो ।

“यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौतारिहेको यहि कारण हो ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदा रहेको उहाँको भनाइ थियो । “यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दू धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने पनि बताउनुभयो । उहाँले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गर्नुभयो  ।

सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद् गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो ।सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गर्नुभएको थियो ।