काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।
बुधबार प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरु सँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनस्वास्थ्यको मापदण्ड पालना का निम्ति सचेतनाको काम प्रभावकारी बनाउनु पर्ने माजोड दिनुभयो । उहाँले कोभिड १९ को अहिले सम्म कुनै खोपको विकास नभै सकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै समस्या समाधान का लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताउनुभयो ।
उहाँले कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने बताउनुभयो । प्राविधि कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट बिमुखहुन नपर्ने बताउनुभयो ।
मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने बताउनुभयो ।
उहाँले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि बताउनुभयो । आइशोलेसन निर्माणका लागिमात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीयतहमा पठाएको स्मरण गर्दै उहाँले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनकालागि गृहकार्य भैरहेको बताउनुभयो ।
मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकास मन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिनुभयो । भर्चुवल बैठकमा सुदूरपश्चिमप्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णालीप्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५का सामाजिकविकासमन्त्री सुदर्शन बराल , गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी रहनुभएको थियो ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीबन घिमिरे कोरोना पोजेटिभ भएर आइशोलेसनमा रहनुभएको र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याउनु भएकोले बुधबारको भर्चुवल बैठकमा सहभागी हुनुभएन ।
सामाजिक विकास मन्त्रीहरुले कोभिड १९ व्यवस्थापनका लागि व्यापक काम भएपनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमाजोड दिए ।








