२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

देश जोगाउन मलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह -भिडियो सहित

हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ

देश जोगाउन मलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह -भिडियो सहित
अ अ+ अ-

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन , राष्ट्रिय एकता कायम राख्ने देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन देशवासीहरुलाई आह्वान गर्नुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दे पूर्वराजा शाहले नेपालको उन्नतिकोे लागि अरु के के त्याग गर्नु पर्ने हो तयार रहेको पनि जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ- अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।

सन्देशको पूर्णपाठ

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनकोे सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबैपात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।

“प्रजातन्त्र” आजको युगको उत्तम शासन पद्धति हुनु पर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधी व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने – सर्वमान्य आर्दश पनि हुन पथ्र्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्र भित्रका हरेकवर्ग, समूह वा व्यक्तिको हक अधिकारको संरक्षण गर्दै प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र – सबैको प्रिय व्यवस्था हुनु पर्दथ्यो । यसमा कहिं कसैको शंका हुन सक्दैन ।

प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई बाद विवाद, द्वन्द विग्रह वा विरोध – प्रतिरोधको अर्थले मात्र बुझ्नु हँुदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषिको रुपमा पनि हेर्नु पर्दछ । सुन्दर शब्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उर्ताने सेवाभाव – र सही प्रजातान्त्रिक आचरण हुनु पर्दछ । सबैको पहिचान हुनु पर्दछ, सबैको अस्तित्व सुरक्षित हुनु पर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

आज देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिंदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।

प्रजातन्त्र आसा जगाउने प्रणाली हुनु पर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनु पर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रत गराउने हुनु पर्दछ, तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दु:खको कुरा हो ।

हाम्रो यो नेपाल देशभक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआवोस भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हँुदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ – भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।

देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैब हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिकोे लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।

श्री पशुपतिनाथले हामी सबैकोे कल्याण गरुन् । जय नेपाल ।