• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

माघी पर्वको चहलपहल सुरु



file photo

कैलाली । पश्चिमी तराईका कैलालीलगात जिल्लाहरुमा बसोबास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ । 

विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास वातावरणमा मनाइने गरेको थारु अगुवा एवं थारु कल्याणकारीका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले जानकारी दिनुभयो । 

वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्सा, अघरिया, चौकीदरवा लगायतका पदहरुमा ककसलाई चयन गर्ने भन्ने विषयमा पनि चौधरी थारू बस्तीहरुमा छलफल चलिरहेको छ । माघी मनाउने तयारीस्वरुप प्रत्येक घरपरिवारमा सुँगुर र बङ्गुरको मासुको व्यवस्थापन गर्नुका साथै गाउँका लागि आवश्यक कार्ययोजनाबारे एक ठाउँमा भेला भएर छलफल गरिरहेको उहाँको भनाइ छ । मासुका लागि बङ्गुर, सुँगुर काट्नेलाई जिता मार्ने भनिन्छ । आज राति नै थारु जातिको संस्कृति अनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको केन्द्रीय सदस्य चौधरीको भनाइ छ । 

“माघे सङ्क्रान्तिका दिन अर्थात् भोलि विशेष गरी बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरेर घरका महिलाले छुट्याइएको चामल र मासको दाल छुने र  त्यो छोएको चामल र मासको दाल घरका चेलीबेटी वा ब्राह्मणलाई दिई टीका लगाउने चलन छ”, चौधरीले भन्नुभयो, “त्यसपछि घरका आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने परम्परा रहिआएको छ ।” पर्वको तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकका बजारमा जाने परम्परा पनि रहेको उहाँले बताउनुभयो । 

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनइरहेको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका सुन्दरलाल चौधरीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “थारू गाउँ अहिले माघीमय भएका छन् ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँनयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् । पर्वमा विशेष गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गेटालगायत स्थानीय खानाका पकवान पकाइ खाने चलन छ । 

बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने मुख्य पर्व भएकाले भव्यरुपमा मनाइरहेको धनगढी–२ का प्रेमबहादुर चौधरीले बताउनुभयो । “गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीहरु मिलेर रमाइलो गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “माघीको चहलपहल विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।” यति मात्र नभएर थारुबस्तीमा माघौटा, सखिया, झुमरा, लाठी नाचलगायत लोकगीतसँगै डम्फु र मादलको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ ।

माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण माघी पर्वको अवसरमा खासै मेला, महोत्सवको आयोजना गरिएको देखिँदैन ।