काठमाडौँ । गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ । भिडियो लाइभ कन्सर्टको हो, जसमा गायक आफ्ना महिला फ्यानहरूलाई चुम्बन गरिरहेको देखिन्छन् ।
अहिले उनी सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेका छन् । महिला फ्यानमाथि गरिएको यो प्रकरणमा मानिसहरुले प्रश्न उठाइरहेका छन् । तर, उदितले भाइरल भिडियोमा आफ्नो स्पष्टीकरण दिएका छन् ।
भाइरल भिडियोमा उदित शोमा फिल्म ‘मोहरा’ को हिट गीत ‘टिप–टिप बरसा पानी’ गाउँदै गरेको देखिन्छ । त्यसपछि केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुग्छन् । उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् र त्यसपछि उनको गालामा चुम्बन गर्दछन् ।
यसपछि गायक स्टेजको अर्को छेउमा गएर त्यहाँ उभिएको बाउन्सरलाई फ्यानलाई स्टेजको नजिक आउनबाट नरोक्न संकेत गर्छन् । त्यसपछि एक महिला फ्यान स्टेजको नजिक जान्छिन्, जहाँ उदित सेल्फीका लागि स्टेजमा घुँडा टेक्छन् र फोटो खिचेपछि उनको ओठमा चुम्बन गर्छन् ।
भिडियोलाई लिएर हंगामा भएपछि गायक उदित नारायणले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा लामो स्पष्टीकरण दिएका छन् । उनले यसलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन् । उदितले भने– ‘फ्यानहरू धेरै पागल छन् । हामी त्यस्तो होइनौं । हामी सभ्य मानिस हौं । यो कुरा भाइरल बनाएर के गर्ने ? भीडमा धेरै मानिसहरू थिए र हामीसँग अंगरक्षकहरू पनि थिए । तर फ्यानहरूले हामीलाई भेट्ने मौका पाउनु पर्छ जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब पागलपन हो, यसमा त्यति ध्यान दिनु हुँदैन ।’
गायकले थपे, ‘मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद चाहन्छन् । मेरो छोरा आदित्य सधैं शान्त छ । विवादमा आउँदैन । स्टेजमा गीत गाउँदा पागलपन हुन्छ । फ्यानहरूले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस् । खैर, हामी यस प्रकारका मानिसहरू होइनौं । हामीले फ्यानहरूलाई पनि खुसी पार्नु पर्छ ।’
सामाजिक सञ्जालमा गायकका बारेमा विभिन्न खालका कुराहरु लेखिएका छन् । यसअघि केही मानिसहरूले यो एआई–जेनरेट गरिएको भिडियो भन्दै थिए । भिडियो सेयर गर्दै राहुल कुमार नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदित यति निर्लज्ज कसरी हुन सक्छन् ?’
उदित नारायणले ५ पटक फिल्मफेयर अवार्ड पाइसकेका छन् । उनले पहिलो पटक फिल्म ‘कयामत से कयामत तक’ को सुपरहिट गीत ‘पापा कहते हैं’का लागि फिल्मफेयर अवार्ड पाएका थिए । सन् २००९ मा, उदित नारायणलाई संगीतको दुनियामा उनको महत्वपूर्ण योगदानको लागि भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो । सन् २०१६ मा उनलाई पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।