२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीखेतीमा वडाध्यक्ष ‘चौधरी’



अ+ अ-

तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।

उहाँ सो वडाका वडाध्यक्ष पनि हुनुहुन्छ । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहनुभएको छ ।

“तरकारीखेती हाम्रो पुरानो पेसा हो”, उहाँले भन्नुभयो, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन ।” करिब तीन कठ्ठा जमिनमा उहाँले गोलभेडाखेती गर्नुभएको छ । अन्यमा केराउ, प्याज, लसुनखेती गर्नुभएको छ । चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउने गर्नुहुन्छ । कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ ।

वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा हुनुहुन्छ । साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्नुहुन्छ । असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उहाँ बताउनुहुन्छ ।

“जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस् ।”

उहाँले उत्पादन गर्नुभएको तरकारीले उचित बजार भने पाउन सकेको छैन । भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उहाँको गुनासो छ । चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उहाँले बताउनुभयो । हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ ।

गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उहाँले वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताउनुभयो ।रासस