२ माघ २०८१, बुधबार
,
Latest
पीपीएमा भएका असमानता हटाई विद्युत खरिददर वृद्धि गर्न उर्जा व्यवसायीको माग मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली अर्थतन्त्रलाई सबल बनाउन अध्यादेश: प्रधानमन्त्री काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ ६.८ म्याग्निच्युडको सिजाङ भूकम्पपछि ३ हजार ६ सय बढी पराकम्प कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको विपक्षी दलको ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति



अ+ अ-

त्रिशूली । माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।

माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गर्नुभयो । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।

गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो ।

यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताउनुभयो ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ ।