३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवेणीधाममा माधवनारायण मेला सुरु



अ+ अ-

भक्तपुर । नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको एकमहिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सुरु भएको छ ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने मेलामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा सूर्यलाई अघ्र्य दिएर व्रत सुरु भएको पुजारी सरोजन शर्माले बताउनुभयो ।

साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको उहाँले बताउनुभयो । नेपाल संवत् ७२२ मा राजा रणजित मल्ल आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको शिलालेखमा रहेको उहाँले बताउनुभयो । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जलग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जलग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी शर्माले जानकारी दिनुभयो । त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथावाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने गरिन्छ ।

बर्तालुहरु खाली खुट्टामा पैदल यात्रा गरी तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्छन् । उनीहरु अष्टमीमा फर्कन्छन् भने दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्छन् । साथै द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि व्रत समापन हुने बर्तालु विनोदकुमार प्रजापतिले जानकारी दिनुभयो ।

बर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्छन् भने कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउँछन् ।

आजदेखि एक महिनासम्म यहाँ माधवनारायणको कथा पनि वाचन हुन्छ । यस वर्ष महिला र पुरुषले गरी ३० जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले जानकारी दिनुभयो । मेला सञ्चालनका लागि ढल बगिरहेको हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइएको छ ।