१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र
अ अ+ अ-

बरहथवा । विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा) चलाएर जीवनमा पुन खुसी फर्काउनुभयो । विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उहाँलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो । तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उहाँले सुनाउनुभयो ।

चार वर्ष पहिला विद्युतीय दुर्घटनामा पर्नुभएका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ । केही समयसम्म वैशाखीको सहारा लिनुभएका उहाँ अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइ रहनुभएको छ । कृत्रिम खुट्टाको सहाराले उहाँलाई सामान्य काम गर्न र हिँड्डुुल गर्न सहज मात्र भएको छैन् । विगत दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य कमाइ गरिरहनुभएको छ ।

‘‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो’’, उहाँले भन्नुभयो , ‘‘परिवारको सहारा र वडाले दिएको अटोरिक्सो फेरि परिवारको मेरुदण्ड बनेको छु । अटोरिक्सा चलाउन सुरु गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ । यसको कमाइबाटै ठूलो प्रगति गरेको उहाँले जानकारी दिनुभयो ।’’ अटोरिक्सा चलाएर कमाएको रु १६ लाखले एउटा पक्की घर बनाएको उहाँले बताउनुभयो ।

एउटा अटोरिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उहाँले अर्को मयुरी गन्नुभएको छ । अटोरिक्साकै कमाइबाट रु चार लाख ५० हजार खर्च गरेर नयाँ मयुरी थपेको उहाँले जानकारी दिनुभयो । कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ । बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रात दिन नभनी अटोरिक्सा चलाउने उहाँले दैनिक रु सात ७ हजारसम्म कमाएको बताउनुभयो ।

थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गरेको उहाँ बताउनुहुन्छ । खर्च कटाएर कम्तीमा महिनाको ६० हजारको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा सात लाख बढी कमाइ रहेको उहाँले सुनाउनुभयो । ‘‘दिनको रु सयको बिजुली खर्च हुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन ।’’, बजारको दिन त भ्याइनभ्याई हुने गरेको उहाँको अनुभव छ । राजेन्द्रले काकालाई मयुरी चलाउने पेसामा ल्याउनुभयो ।

आफूले अटोरिक्सा चलाउन सुरु गरे यता गाउँमा पाँच वटा मयुरी थपिएको उहाँले बताउनुहुन्छ । निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिनुभयो । विसं २०६० मा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि घरपरिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आयो । दुई भाइ र एक बहिनी मध्यका जेठा उहाँले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आउनुभएको थियो । उहाँ विसं २०७६ मा विद्युतीय दुर्घटनामा परेपछि परिवारको विचल्ली भएको थियो ।

‘‘सम्पत्तिको नाममा दुई कठ्ठा खेत र १० धुर घडेरीमा बनेको सानो घर बाहेक केही थिएन ।’’ सन्तलालले भन्नुभयो, ‘‘आफू पहिलेदेखि अपाङ्ग एक मात्र भरोसा जेठो छोराको त्यस्तो भएपछि हामी सडकमा आइपुगेका थियौँ । हारगुहार गरेर छोरा त बचाए । अब कसरी जीवन धान्ने भन्ने दिन आयो । केही नभएको देखेर वडाध्यक्ष नागेन्द्र साहले दिनुभएको मयुरीले फेरि हाम्रो जीवन फर्किएको हो, उहाँले गहभरी आँसु बनाउनुभयो ।’’

त्यो दुर्घटना, त्यसपछिका केही वर्ष फर्किएर सम्झँदा मन भक्कानिने गरेको राजेन्द्रकी आमा सुमित्रादेवी महतो बताउनुहुन्छ । ‘‘छोरा दुर्घटनामा परेपछि त मेरो लागि सारा धर्ती भासिए जस्तै भयो’’, उहाँले भन्नुभयो, “श्रीमान्को हात काटिएपछि घर हेर्ने छोराको अवस्था यस्तो भएपछि के भयो होला ? सम्झना गर्न मन लाग्दैन ।’’ छोराले मयुरी चलाउने हिम्मत गरेको र त्यो दुःखमा वडाले मयुरी दिएर लगाएको गुन जीवनभरि तिर्न नसकिने उहाँको भनाइ छ ।

‘‘सुरुमा मैले अब पसल चलाउँछु, भनेर वडाध्यक्षसँग सहयोग मागेको थिए’’, राजेन्द्रले भन्नुभयो, ‘‘वडाध्यक्षले पसलमा उधारो धेरै हुन्छ । लगानी धेरै चाहिन्छ । त्यसो नगर मसँग एउटा उपाय छ । वडाबाट एउटा मयुरी अनुदान मिलाइ दिन्छु । तिमी मयुरी चलाउ भन्नुभयो । मैले दुई पाँच सय आम्दानी भयो भने परिवार पाल्न सक्छु भनेर हुन्छ भनिदिए ।’’

विसं २०७९ फागुनमा वडा कार्यालयले राजेन्द्रलाई एक थान विद्युतीय मयूरी दियो । त्यस यता राजेन्द्रले दुःखका दिनलाई फेरि फर्किएर हेर्नुपरेको त छैन नै केही गर्नसक्छु भन्ने हिम्मत बढाउनुभयो । अटोरिक्साको आम्दानीले बहिनीको विवाह गर्दा लागेको रु पाँच लाख ऋण तिरेको उहाँले बताउनुभयो । ‘‘मैले अटोरिक्सा चलाएर नसोचेको आम्दानी गरे’’, उहाँ भन्नुहुन्छ, ‘‘एउटाले नभ्याउने भएपछि त्यसैको कमाइबाट तीन महिना पहिला मात्र अर्को अटोरिक्सा किनेको छु ।’’

अटोरिक्सा लिएर राजेन्द्र महोत्तरीको बर्दिवास, रौतहटको चन्द्रपुर, बरहथवा, जिल्ला सदरमुकाम मलङ्गवासम्म पुग्नुभएको छ । तर, उहाँ अधिकांश समय गाउँबाट दुई तीन किलो मिटरको दुरीमा रहेको हरिवन बजार ओहोरदोहोर गर्ने यात्रुहरूलाई सेवा दिनुहुन्छ । सरल र मिलनसार उहाँको अटोरिक्सामा स्थानीय ढुक्क भएर यात्रा गर्छन । आज भोलि बिहान सबेरैदेखि साँझ अबेरसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउनु राजेन्द्रको नियमित कर्म बनको छ ।

दुर्घटनामा खुट्टा गुमाएपछि कसरी परिवार पालौँला भन्ने चिन्तामा रहेका राजेन्द्र वडाबाट पाएको अटोरिक्सा चलाउन थालेपछि फेरि परिवारको दरिलो आड बनेर उभिनुभएको छ । त्यतिमात्र हैन, मेहिनत गरेर परिवारलाई सुखले पाल्न सक्छु भन्ने हिम्मत बढेको उहाँले उत्साहित हुँदै सुनाउनुहुन्छ । राजेन्द्रको दुर्घटनापछि नै एक छोरा र एक छोरी जन्मिएका छन् । विवाहको सात वर्षपछि सन्तान पाएका राजेन्द्रले खुसियालीमा गाउँमा भोज नै खुवाउनुभयो ।

सवारीचालक अनुमतिपत्र नपाएको गुनासो

सामान्य मानिसले जस्तै आफूले मयुरी सजिलै चलाउन सक्ने भए पनि अनुमति पत्र नपाएको राजेन्द्रको गुनासो छ ।

उहाँ जिप, कार चलाउन अनुभवी र अनुमतिपत्र प्राप्त चालक हुनुहुन्छ । दुर्घटनापछि ठूलो सवारी चलाउ छाडेको बताउनुभयो । मयुरीको सबै नियन्त्रण हातमा हुने र दायाँ खुट्टा राम्रो भएकाले काम गर्न कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । त्यति हुँदाहुँदै यातायात व्यवस्था विभागले आफूहरू जस्ताको लागि चालक अनुमतिपत्र दिनेसम्बन्धी व्यवस्था नभएको भन्दै फर्काएको उहाँको दुखेसो छ ।

‘‘मैले चालक अनुमतिपत्र लिने प्रयास गरे’’, उहाँले भन्नुभयो, ‘‘बुझ्न जाँदा अपाङ्गता भएकाका लागि दिन मिल्ने कानुन छैन भनेर फर्काउनुभयो । विदेशमा कम्मर तल नचल्ने व्यक्तिहरूले सबै नियन्त्रण हातमा राखेर गाडी चलाउने अनुमति पाउछन् ।’’ यहाँ पनि त्यस्तै व्यवस्था हुनुपर्ने उहाँको माग छ । यो सोख भन्दा पनि रोजी रोटी सँग जोडिएको विषय भएकोले सरकारले यता ध्यान दिनुपर्ने उहाँ बताउनु हुन्छ ।

यसरी शारीरिक रुपमा सामान्य क्षति पुगेका अपाङ्गता भएकाहरू सयौँले क्षमता र हिम्मत हुँदाहुँदै श्रम गरेर खान नपाएको उहाँको भनाई थियो ।

हरिवन–५, का वडाध्यक्ष नागेन्द्र साहले राजेन्द्रलाई अटोरिक्सा सहयोग गरेर आफूले स्थानीय जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताउनुभयो । आर्थिक रुपमा निकै विपन्न परिवारमा एकपछि अर्को बज्रपात परेको र त्यसबाट एक परिवार नै धारासायी बनेपछि वडाले जीविकोपार्जन कार्यक्रमअन्तर्गत मयुरी किनेर दिएको उहाँको भनाइ थियो ।

‘‘घरमुली बुवाको बायाँ हात काटिएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘त्यस पछि घरको सबै अभिभारा सम्हालेका छोरा राजेन्द्रको पनि खुट्टा गुमेपछि त्यो परिवारमा कस्तो अवस्था भयो होला ? एउटै वडावासी भएको नाताले मैले महसुस गरेको छु । युवा मान्छे केही गर्नुपर्यो भन्ने हिम्मत लिएर सहयोग माग्न आउनुभयो । मैले नै वडाबाट निःशुल्क अटोरिक्सा उपलब्ध गराई दिए । अहिले प्रगति नै प्रगति भएको छ । हामी निकै खुसी छौँ ।’’

यस वडा कार्यालयले हरेक वर्ष यस्ता विपन्न परिवार छानेर आवास र स्वरोजगारीको लागि विभिन्न सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारको भूमिका यही होला भन्ने लागेको उहाँको अनुभव छ । ‘‘स्थानीय सरकारले बजेट तयार गर्दा लैङ्गिक उत्तरदायित्व लिएर लक्षित वर्गको लागि बजेट राख्नुपर्ने व्यवस्था नै छ’’, उहाँले भन्नुभयो, ‘‘सोहीअनुसार जीविकोपार्जनका लागि विपन्न परिवारलाई सहयोग गरेका छौँ ।’’रासस