१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
अ अ+ अ-

मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।

कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ सास्ती भोग्नुपरेको थियो । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो । सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध सङ्ग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ सङ्ग्रहालय निर्माण थालिएको उहाँले उल्लेख गर्नुभयो ।

“नगरपालिकाले पनि सङ्ग्रहालय निर्माणमा सहयोग गरिरहेको छ”, नगरप्रमुख शाहीले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बनिरहेको छ, यसले आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने र द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हुने विश्वास लिएका छौँ ।”

द्वन्द्वको बेला तत्कालीन शाही सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ ।

“विसं २०६२ साउन २३ गते विद्रोही र तत्कालीन शाहीबीच दोहोरो भिडन्त हुँदा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँले लिएको छ”, स्थानीय मानबहादुर मल्लले भन्नुभयो । सो समयमा सबैभन्दा बढी मानवीय क्षति भएकाले यसलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो ।

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल जाने बीच बाटोमा पर्ने भएकाले यहाँ पर्यटकको आगमन बढाउन सकिने भन्दै यो ठाउँ द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण हुनसक्ने स्थानीय रामबहादुर कार्कीले विचार राख्नुभयो ।

“द्धन्द्धका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधैँभर जीवन्त राख्ने, युद्धको अवशेषहरू देखाउने र पर्यटनका माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्न थालेकान हौँ”, उहाँले भन्नुभयो, “युद्ध पर्यटकीयस्थल र लडाइँ भएका ठाउँमा भग्नाअवशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँ प्रयोग भएका हतियारसमेत सङ्कलन गर्ने तयारी छ ।”

आव २०७६र७७ मा रु एक करोड ५० लाख बजेट विनियोजन भएकामा सो रकमबाट घरबास ९होमस्टे० सहित तीन वटा भवन, करिब सात सय मिटर रेलिङसहितको सिँढी निर्माण भएका खाँडाचक्र नगरपालिकाका प्रमुख शाहीले जानकारी दिनुभयो ।

“त्यसअघि र पछि गरेर रु तीन करोड खर्च भइसके पनि नयाँ बन्ने संरचनाको काम सुरु भएको छैन । पिलीका लागि सङ्घीय संरचना नबन्दै तत्कालीन दाँहा गाविस, जिल्ला विकास समिति कालीकोट, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायको समन्वयमा ती संरचना निर्माण भएका हुन् । कोभिड–१९ पछि भने बजेट विनियोजन भएको थिएन”, उहाँले भन्नुभयो ।

भ्युटावरसहित अन्य संरचना बन्दै

डिभिजन वन कार्यालय कालीकोटमार्फत पिलीमा युद्ध पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधारका काम भइरहेका छन् । यहाँ युद्ध सङ्ग्र्रहालय, रेलिङसहित करिब एक हजार नौ सय मिटर पैदलमार्ग, पौडी पोखरी, सवारीस्थाल, प्रवेशद्वार, भ्यटावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो ।

सङ्ग्रहालय निर्माण अन्तिम चरणमा पुगेको बताउँदै ८५ प्रतिशत भौतिक प्रगति र ५७ प्रतिशत वित्तीय प्रगति भएको उहाँले जानकारी दिनुभयो । अहिले बाहिरी आवरण र रङ्गरोगनको काम भइरहेको छ ।

विसं २०८४ असार २२ गतेसम्म काम सम्पन्न गर्नेगरी विसं २०७९ असार २३ गते रु छ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता भएको थियो । डिभिजन वन कार्यालयका प्रमुख कुमाईले अहिले तीव्र रूपमा निर्माण अघि बढेको जानकारी दिनुभयो ।

युद्धस्थलका रूपमा चिनिएको पिलीलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने प्रमुख कुमाईले बताउनुभयो ।

“यहाँ उत्पादन हुने स्थानीय वस्तु र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो, “घटनासँग सम्बन्धित विषय र सामग्री सङ्ग्रहालयमा राखेपछि अवलोकन, अनुसन्धान गर्ने आन्तरिक र बाह्य पर्यटक पनि बढ्नेछन् । अब यो पिलीको डाँडा मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन जरुरी छ ।”

आन्तरिक पर्यटकको रोजाइमा पिली

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पिली पर्न थालेको छ । यहाँ बनेका संरचना र कर्णाली राजमार्गको सिरानमा पर्यटकीय क्षेत्र विस्तार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

पिली द्धन्द्धसम्बन्धी अध्ययन र अनुसन्धान गर्नेका लागि आकर्षण केन्द्र बनेको भन्दै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला पुग्ने पर्यटकलाई यहाँ रोकिराख्न पनि यो स्थान महत्वपूर्ण हुने कर्णाली प्रदेशसभाका सांसद दुर्गबहादुर रावतले बताउनुभयो ।

“पिली रारा तथा जुम्ला जाने सडक नजिकपर्ने भएकाले पनि आन्तरिक पर्यटकको रोजाइ पर्ने गरेको छ”, उहाँले भन्नुभयो, “अहिले यो पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ ।” उहाँले यस क्षेत्रको प्रचारप्रसार, थप पूर्वाधार निर्माणलगायत काममार्फत पर्यटन प्रवर्द्धनमा प्रदेश र सङ्घीय सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

युद्धमा प्रयोग भएका हातहतियार र अन्तिम युद्ध भएको ठाउँको इतिहासलाई महसुस गर्ने सामग्री राख्ने गरेर संरचना तयार गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । युद्धका बेला दुवै पक्षले प्रयोग गरेका बङ्कर हातहतियारसमेत संरक्षण गर्नु आवश्यक देखिएकाले ती संरचना संरक्षण गर्न थालिएको पूर्ववडाध्यक्ष रजबहादुर मल्लले बताउनुभयो ।

“सशस्त्र द्वन्द्वको अन्तिम युद्धस्थल पिलीमा बनेका भौतिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय अर्गानिक उत्पादनलाई जोड दिएर यहाँको पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिएका छौँ ।”