७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

भैँसीपालनमा रमाउँदै घोरासैनी

भैँसीपालनमा रमाउँदै घोरासैनी
अ+ अ-

मनहरी । हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आउनुभएको छ । युवा पुस्तालाई चुनौती दिँदै उहाँ भैँसीपालनमा सक्रिय हुनुहुन्छ । घोरासैनीको दैनिकी झिसमिसे बिहान उठेदेखि साँझसम्म गोठमै बित्ने गर्दछ । उमेरले ५० वर्ष टेक्न लागेका उहाँ अहिले पनि भैँसी गोठमा हुने सबै कार्यमा सक्रिय हुनुहुन्छ । बिहानको गोठधन्दा सकेर दूधको क्यान बोक्दै स्थानीय खुवा बजार चुच्चेखोलामा भेटिनुभएका घोरासैनीले कृषि पशुपालन पेशाबाट सन्तुष्ट देखिनुहुन्छ ।

यस पेशामा हेर्ने दृष्टिकोण सकारात्मक नपाए पनि विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं भन्ने उद्देश्यले पशुपालनमा लागेको उहाँले सुनाउनुभयो । शुरुमा नेपाल आए पनि के काम गर्ने भनेर अलमल परियो, साथीभाइ आफन्तसँगको सल्लाहमा नमुना कार्य गर्ने भन्दै यस पेशामा आकर्षित भएको उहाँ बताउनुहुन्छ । सत्र वर्षको वैदेशिक रोजगारीपछि हेटौँडामा पुर्खौली १५ कठ्ठा जमिनमा फार्म निर्माण गरी पशुपालनमा सक्रिय रहनुभएका घोरासैनी कृषिमा देखिएको सम्भावनालाई चरितार्थ गर्ने सोचमा हुनुहुन्छ ।

उहाँ २०५९ सालपछि साउदी अरब, युएई, कतारलगायतका देशहरुमा रोजगारीको सिलसिलामा पुग्नुभएको थियो । लामो समय विदेश बस्दा सन्तुष्टि नमिलेपछि २०७७ सालमा उहाँ स्वदेशमै कृषि तथा पशुपालन क्षेत्रमा केही गर्ने सोच बोकेर फर्कनुभयो । औद्योगिक वातावरण स्वास्थ्य र सुरक्षा विषयमा स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्नुभएका घोरासैनीले नेपालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुर, रुकुमलगायतका जिल्लामा तथा चमेलिया–दार्चुला सडक खण्डको गुणस्तर निर्धारक भएर पाँच वर्ष काम गर्नुभएको थियो । तत्कालीन समयमा मुलुकमा जारी सशस्त्र युद्धका कारण काम गर्ने अवस्था नभएपछि उहाँले विदेश जानुको विकल्प देख्नु भएन । ‘‘त्यसबेलाको कुरा गर्दा पनि आँशु आउछ, स्वेदेशमै केही गर्छु भनेर सरकारी सेवा गरेको थिएँ तर काम गर्ने वातावरण नबनेपछि बाध्य भएर विदेसिनुप¥यो’’, उहाँले भन्नुभयो ।

अध्ययनमा लगानी गरेअनुसारको कमाई पनि नेपालमा देखिएन, अनि देशको अवस्था पनि राम्रो भएन ज्यान जोगाउनै भए पनि वैदेशिक यात्रामा लाग्नु बाध्यता बनेको उहाँ सुनाउनुहन्छ । सत्र वर्ष विदेश बस्दा पैसा कमाए पनि देशप्रतिको मोहले उहाँलाई छाडेन । स्वदेशमै केही गरौं भन्ने उद्देश्यले गाउँ फर्कनुभएका उहाँले अन्ततः पशुपालन व्यवसायलाई रोज्न पुग्नुभयो । उहाँले २०७७ सालदेखि गाई तथा भैँसीपालनलाई पेशागत रुपमा थालनी गर्नुभयो । यससँगै माछापालन पनि गर्नुभयो । हेटौँडा–१७ गैरीगाउँमा पुर्खौली जमिनमा १३ वटा गाई र सात वटा भैँसीपालनबाट यस पेशालाई शुरु गर्नुभएको उहाँले उतिबेला सोचेजस्तो आम्दानी पाउनुभएन । ठूलो लगानीमा होमिएका उहाँले सरकारीस्तरबाट पनि खासै अनुदान नपाएको गुनासो गर्नुभयो ।

युवालाई नेपालमै स्वरोजगारमूलक नीति ल्याउने राज्यले काम गर्न खोज्ने युवालाई झन्झटिलो प्रक्रियामा गाँजेपछि घोरासैनीको मनमा चिसो पस्यो । त्यतिबेलामा देशमा गाईपालनको पेशामा धेरै जनाको आकर्षण बढे पनि गाईबाट उत्पादित दूध निकासीमा सुस्त देखेपछि लगभग एक वर्ष उहाँले घाटामै फार्म सञ्चालन गर्नुभयो । स्थानीय खुवा बजारमा भैँसीको दूध आवश्यक देखेपछि आफू भैँसीपालनतर्फ आकर्षित भएको बताउनुभयो । दूध बिक्रीमा कुनै समस्या नभएका उहाँको भनाइ छ ।

‘उद्यम गरौँ, उद्यमी बनौँ’ भन्ने सोचका साथ करिब डेढ करोड रुपैयाँको लगानीबाट उहाँँले जैमिनी एग्रोफार्म कम्पनी प्रालिमार्फत पशुपालन हात हाल्नुभएको हो । स्थानीय बजारमा गुणस्तरीय दूधको आपूर्ति गर्ने सोच बोकेर रोजगार तथा स्वरोजगार, उद्यमशीलताको नमूना बन्ने र कृषिमा देखिएको सम्भावनालाई युवा पुस्तामाझ आकर्षित गर्ने उद्देश्यले पेशामा होमिएको उहाँको भनाइ छ । बजारको माग धान्न अब भैँसीको संख्यालाई सयको हाराहारीमा पु¥याउने उहाँको सोच छ । भैँसीको संख्या बढाएर अझ फार्मलाई बृहत बनाउने सोच रहे पनि लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेको उहाँको भनाइ छ । अनेक कागजी झन्झटका कारण सरकारी अनुदान नलिए पनि सहुलियत कर्जामा उहाँले यस पेशालाई निरन्तरता दिँदै आउनुभएको छ ।

खुवाका लागि ‘हव’ बन्दै गएको हेटौँडा–६ चुच्चेखोला घोरासैनीको फार्मबाट उत्पादित दूध आपूर्ति हुने मुख्य स्थान होे । शुरुमा भैँसीभन्दा गाईको संख्या बढी भएकाले गाईको दूध खुवा उत्पादनमा उति बिक्री नभएपछि उहाँले भैँसीको संख्यालाई बढाउँदै लैजानुभयो । घोरासैनीको फर्मबाट हाल ४५ वटा भैँसीबाट दैनिक दुई सय ५० लिटर दूध उत्पादन हुने गर्दछ । उहाँले उत्पादित दूध स्थानीय खुवा बजारमा खपत भइरहेको बताउनुभयो । चार वर्षको अनुभवमा घोरासैनीले यस पेशाप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो ।

दूध विक्रीबाट मासिक रु आठ लाख ५० हजार आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । पशु आहार, कर्मचारी व्यवस्थापनमा मासिक सात लाख खर्च हुने गरेको उहाँको भनाइ छ । उहाँको फर्ममा अन्य पाँच जनाले रोजगारी पनि पाएका छन् । गाउँमा युवाहरुको विदेश मोहका कारण कामदारको अभावले निकै समस्या परेको उहाँ सुनाउनुहुन्छ । बजारमा सन्तुलित पशुआहार अभाव, अस्वाभाविक मूल्य वृद्धिले पनि व्यवसायबाट सोचेअनुसार प्रतिफल लिन नसकिएको उहाँ बताउनुहुन्छ ।

समाजबाट यस पेशाप्रति अपेक्षाकृत सहयोग नपाएको दुखेसो गर्दै स्थानीय सरकारले वास्तविक कृषकलाई चिनेर कृषि नीति निर्माणमा भएको कमीकमजोरी सुधार गर्नसके यस पेशामा अन्य युवाको पनि आकर्षण बढ्ने उहाँको बुझाइ छ । उहाँले भैँसीको लागि नजिक रहेको छिमेकीको एक बिगाहा जमिन वार्षिक साठी हजार रुपैयाँ भाडामा लिएर डालेघाँस लगाउनुभएको छ । गाउँमा खेतीपाती कम हुन थालेकाले छिमेकी जिल्लाबाट चर्को मूल्यमा परालजन्यवस्तु खरिद गर्नुपर्ने बाध्यता छ । डालेघाँसले मात्रै पुग्दैन बाध्य भएर पराल, भुस खरिद गर्नुपर्ने हुन्छ ।

घोरासैनीले १० कठ्ठा जग्गामा माछापोखरी बनाएर माछापालन व्यवसायलाई पनि सँगै लैजानुभएको छ । उहाँले रु तीन लाख खर्चेर पोखरी निर्माण गरी त्यसमा विभिन्न प्रजातिका एक हजार माछाका भुरा हाल्नुभएको छ । पोखरीमा रउ, कमनकार, बिग्रेड, ग्रासलगायतका प्रजातिका माछा रहेका छन् । माछापालनबाट पनि वार्षिक एक लाख रुपैयाँ कमाई गर्ने गरेको बताउनुभयो । नेपालमा जे काम गरे पनि राम्रै आम्दानी गर्न सकिन्छ तर त्यसमा अनुसन्धान, मेहनत, बजार अध्ययन हुनुपर्छ, अरुको लैलै देखासिकीमा लागेर काम गर्दा सफलता पाउन गाहे हुने उहाँको ठम्याइ छ । नेपालमा पशुपालनको प्रचुर सम्भावना हुँदाहुँदै पनि सरकारी उदासीनता र समाजको गलत सोचका कारण पशुजन्य पदार्थमा समेत आत्मनिर्भर हुन नसकेको उहाँ बताउनुहुन्छ ।

पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वास्तविक किसानले लाभ लिन नसकेको उहाँको भनाइ छ । केही वर्षयता व्यावसायिकरूपमा पशुपालन गर्ने क्रम बढ्न थालेपछि स्थितिमा केही सुधार भए पनि अझै विस्तार हुन नसकेको उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘‘पशुपालन अपेक्षाकृत बढी जोखिमपूर्ण व्यवसाय भएकाले पशु बीमाको प्रचलन व्यापक बनाउन सके मात्रै पनि पशुपालक किसानले ठूलो राहत पाउने छन् ।’’ घोरासैनीबाट प्रेरित भई जिल्लाका अन्य युवाहरु पनि व्यावसायिक पशुपालनतर्फ आकर्षित छन् ।

जिल्लामा एक लाख पन्ध्र हजार तीन सय ३८ भैँसीको संख्या रहेको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा। ब्रजकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार ४६ हजार सात सय ३४ स्थानीय जातका भैँसी, ४९ हजार आठ सय ८३ वटा वर्णशङ्कर र १८ हजार सात सय २१ वटा उन्नत जातका भैँसीको तथ्याङ्क रहेको छ । साथै, जिल्लामा स्थानीय जातका ४२ हजार दुई सय ८३, वर्णशङ्कर ५५ हजार एक सय ६७ र उन्नत जातका १३ हजार दुई सय ५५ गरी एक लाख नौ हजार सात सय पाँच वटा गाई रहेको बताइएको छ । पशुपन्छी तथा मत्स्य उत्पादन कार्यालयको २०७९÷८० को तथ्याङ्कअनुसार वार्षिक पाँच करोड २७ लाख लिटर उत्पादन हुने गरेको छ । जिल्लामा सञ्चालित फार्ममध्ये दुई सय ५८ वटा कृषि तथा पशुपन्छीपालन फार्म पशुसेवा कार्यालयमा सूचीकृत भएका छन् भने ७४ वटा व्यावसायिक गाईपालन फार्म मात्रै सुचीकृत भएको डा। ठाकुरले बताउनुभयो ।