काठमाडौँ । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखिएको छ भने राजधानी दाङ जिल्लाको भालुवाङ राखिने भएको छ ।
उक्त प्रदेशको प्रदेश सभाको आज बसेको बैठकले यो प्रस्तावलाई पारित गरेको हो । प्राप्त समाचारअनुसार आजको प्रदेश सभाको बैठकमा यी दुवै प्रस्तावमा मतदान भएको थियो ।
आजको मतदानमा यस प्रस्तावमध्ये प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा सर्वसम्मति भएको थियो । तर राजधानीका विषयमा भने विवाद उत्पन्न भएको थियो ।
राजधानीको विषयमा काँग्रेसले विरोध गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राजधानी बुटवल नै हुनुपर्ने बताएको थियो । काँग्रेसले औपचारिक रुपमा निर्णय गरेर राजधानीलाई दाङ राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो ।
बुटबलबाट राजधानी सार्ने विषयमा बुटवलकै नेकपाका कतिपय सांसदहरुले पनि विरोध गरेका थिए । तर मतदानमा भने उनीहरुले पार्टी निर्णयको उल्लंघन गरेनन् ।
राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो भने लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको थियो ।











