काठमाडौ । निजी मेडिकल कलेजले आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउने तयारी गरेको छ ।
हाल आवासीय चिकित्सकहरुले शिक्षण शुल्क बापत रु २३ लाख तिर्दै आएकामा झण्डै दोब्बर बृद्धि गर्ने तयारी पछि आवासीय चिकित्सकहरुले पनि आन्दोलनको तयारी थालेका हुन् । एक चिकित्सकका अनुसार हाल आवासीय चिकित्सकले अस्पतालमा काम गरे बापत १९ हजार रुपैयाँ मासिक पाउने गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको न्यूनतम पारिश्रमिक ४८ हजार बजाउन सिफारिस गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरुले सो रकम उपलब्ध गराउन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् । निजी मेडिकल कलेजको असन्तुष्टिपछि चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले शुल्कबृद्धि गर्न सुझाव दिँदै चिकित्सकको माग पूरा गर्न सुझाव दिएपछि आवासीय चिकित्सकहरुले असन्तुष्टि जनाएका हुन् ।
एक चिकित्सकले न्यूजपोलारसँग भने– विद्यार्थीहरुमाथि शुल्क थप्ने कुरा कुनै हालतमा स्वीकार्य हुँदैन । यदि त्यसो भयो भने हामी बाध्य भएर आन्दोलनमा जान्छौँ । उनले शुल्क बढाउने निर्णय गरेमा आवासीय चिकित्सहरु सडकमा आउदा मुलुकभरका अस्पतालको सेवा समेत ठप्प हुने र त्यसको भागिदार स्वयं सरकार नै हुनुपर्ने बताए ।
प्रधानमन्त्रीले बिचको बाटो खोजेर निकास खोज्नुपर्नेमा निजी मेडिकल कलेजका सञ्चालकका पक्षमा मात्र देखिनु दुर्भाग्यपूर्ण रहेको चिकित्सकहरुको भनाई छ । वैकल्पिक उपायहरु हुँदाहुँदै पनि सरोकारवालाले चासो नदिएको उनीहरुको गुनासो छ ।
ती चिकित्सकले भने– विद्यार्थी भर्नाको कोटा बृद्धि एवं विदेशी विद्यार्थीका लागि भर्नाको लागि बाटो खुल्ला गर्दा नेपाली विद्यार्थीलाई भार नपर्ने भएपनि विकल्पको बाटो खोजिएन । कम्तीमा पनि ३२ हजार आवासीय चिकित्सकहरु सडकमा आउँदा त्यो भार सरकारले थाम्न सक्छ कि सक्दैन भन्ने कुरा सरकारले नै जानोस् ।