२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि एम्बुलेन्सले किसानलाई राहत



अ+ अ-

मुग्लिन । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताउनुभयो । उहाँका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेकामा अहिले भने दुई मुठा सागले पनि बजार पाउने गरेको छ ।

कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उहाँको बताउनुहुन्छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताउनुभयो । उहाँले किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजारसम्म लैजाने गरेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले गत दुई आर्थिक वर्षमा ७५ प्रतिशत अनुदानमा कृषि समूहको साझेदारीमा तीनवटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँघरमा उत्पादन भएका ताजा सागसब्जी बजारसम्म पुर्याउने काम कृषि एम्बुलेन्सले गरेको छ । वडा नम्बर १ को हात्तीवाङ, २ को हपनी र वडा नम्बर ७ को दाहाखानी क्षेत्रबाट ती कृषि एम्बुलेन्स सञ्चालन भइरहेको छ । वडा नम्बर १ र २ बाट चल्ने कृषि एम्बुलेन्स फिस्लिङ केन्द्रित छन्भने ७ नम्बरबाट चल्ने कृषि एम्बुलेन्स भरतपुर र मुग्लिन बजार केन्द्रित छ । कृषिजन्य उत्पादन बजार पुर्याउन मात्र नभई यहाँका स्थानीयले सस्तो भाडादरमा आवातजावत गर्न पाएका छन् ।

कृषि एम्बुलेन्स सञ्चालनसँगै इच्छाकामना गाउँपालिकाले उत्पादन वृद्धि गर्न किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई आवश्यक बीउबिजन, मल अनुदानका साथै तालिम दिने गरिएको छ । गाउँपालिकाले बाँझो जमिनमा व्यावसायिक खेती गर्ने किसानलाई बीउ, मलमा अनुदान कार्यक्रम सञ्चालन गरेको छभने बाख्रापालक किसानलाई खोर सुधारका लागि अनुदान पनि दिँदै आएको छ । रासस