५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत आर्चरीले जोड्दै नेपाल चीन खेलयात्रा



अ+ अ-

काठमाडौंं । चिनियाँ इतिहासमा धनुष र बाणको महत्वपूर्ण सम्बन्ध रहेको छ । चिनियाँहरुले शिकार, खेल, अनुष्ठान, परीक्षा र युद्धको हतियारको रूपमा २०,००० वर्षभन्दा पहिले यस्तो सामग्री प्रयोग गरेको इतिहास छ ।

विगतमा धनुषको कौशलमा पोख्त हुनुलाई चिनियाँ सम्राटहरूको एक गुणको रूपमा लिने गरिथ्यो । धनुषको कौशल चिनियाँ झोउ वंशको छ वटा नोबल आर्ट्स मध्ये एक आर्ट्सका रुपमा लिने गरिन्छ । यो संगै दार्शनिकहरू, कन्फ्यूसियस र लिउ जी लगायतका व्यक्तिहरु पनि राम्रा धनुषधारी रहेको चिनियाँ इतिहासमा उल्लेख छ ।

परम्परागत समयमा चिनियाँहरुले अधिकांश अवस्थामा धनुष र बाणको प्रयोग गर्ने गरेका थिए । बिस्तारै सैन्य तालिम र खेलको रुपमा यसको विकास हुँदै गयो । सैन्य परीक्षामा विशेष रूपमा डिजाइन गरिएको धनुष बाणको प्रयोगात्मक परीक्षा पनि लिन थालिएको चिनियाँ इतिहासमा उल्लेख छ ।

बिस्तारै धनुषको स्वरुप पनि परिमार्जन हुन थाल्यो । शिकारको लागि, चिनियाँहरूले सामान्य धनुष र बाणका साथै पेलट धनुष र एक तानेको बाणको प्रयोग गर्न थाले ।

पेलट धनुष प्रयोग गर्दा, चिनियाँहरूले पत्थरको पेलट प्रहार गर्नको लागि डिजाइन गरिएको हल्का धनुष प्रयोग गर्थे। एक सिद्धान्त अनुसार, पेलट धनुष धनुष र बाणको पूर्ववर्ती थियो र शिकारमा धनुष र बाणको साथमा पेलटको प्रयोग सदियौंसम्म प्रयोग गरिएको थियो । चिनियाँ इतिहासको महत्वपूर्ण भूमिका रहेका चिनियाँ पारम्परिक धनुष बाणको २००९ मा वार्षिक चिनियाँ पारम्परिक धनुष बाण संगोष्ठीको स्थापना भयो ।

जसको उद्देश्य चिनियाँ धनुष बाणको नयाँ जीवित परम्परा सिर्जना गर्नु थियो। चीनले विस्तारै धनुष बाणको बारेमा विद्यालय तह देखि नै जानकारी गराउनुका साथै राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता गराउन थालेको छ ।

२०औं शताब्दीमा यो लगभग लोप हुन लागेको थियो तर २१ औं शताब्दीमा यस कलामा व्यापक रुपमा चीनले पुनर्जागरण गरेको छ ।

चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालयमा परम्परागत आर्चरी, उसु र कुस्तीका बारेमा पढाइ हुने गरेको छ ।

विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले नेपाललाई परम्परागत आर्चरी, उसु र कुस्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी, नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जनलाई ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले परम्परागत आर्चरीको इतिहास, वर्तमान र भविष्यका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले निर्माण कारखानाको समेत अवलोकन गराउँदै यस खेलमार्फत नेपालसँग जोडिन चाहेको बताउनु भयो ।

नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गर्नुभएको छ ।

एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसोसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान सञ्चालन गर्ने सहमति भएको छ ।

 

यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताउनुभयो । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गर्नुभएको सङ्घले जनाएको छ ।

उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताउनुभएको थियो ।

ट्रेडिसनल आर्चरी एसोसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताउनुभयो ।