८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

नागोर्नो काराबाख क्षेत्र, सुल्झन नसकेको एउटा विवाद

नागोर्नो काराबाख क्षेत्र, सुल्झन नसकेको एउटा विवाद
अ+ अ-

नागोर्नो काराबाखमा अहिले रगतको खोलो बगेको छ । यो स्वतन्त्र मुलुक होइन । तर यहाँका मानिसले आफूलाई स्वतन्त्र ठान्छन् किनभने उनीहरुले स्वतन्त्रताका लागि ठूलो बलिदानी दिइसकेका छन् । अहिले फेरि नागोर्नो काराबाख चर्चाको शिखरमा छ ।

नागोर्नो काराबाख कहाँ छ ?

नेपालीहरुले त्यति नसुनेको भूभाग हो नागोर्नो काराबाख । यो मध्य एसियाका दुई राष्ट्रहरु अजरबैजान र आर्मेनियाको बीचमा छ । खासगरी अजरबैजानको दक्षिणपश्चिममा यो भूभाग छ । यो अजरबैजानले घेरिएको भूपरिवेष्ठित भूमि हो । पूर्व सोभियत रुस सन् १९८९ मा टुक्रिएपछि अजरबैजान र आर्मेनिया स्वतन्त्र राष्ट्रका रुपमा देखा परेका थिए । यी दुई राष्ट्रको जन्म हुनुभन्दा अघिदेखि नै नागोर्नो काराबाख क्षेत्रलाई लिएर विवाद हुँदै आएको थियो । सोभियत रुसको विभाजनको समयमा नागोर्नो–काराबाख क्षेत्रभित्र विवाद चरम विन्दुमा पुगिसकेको थियो । हिंसात्मक द्वन्द्वको परिणामस्वरुप अजरबैजानी र आर्मेनियाली समुदायबीच संघर्ष भयो । दुबै समुदायले एक अर्कामाथि जातीय सफाया गरेको आरोप लगाउँदै आएका छन् ।

नागोर्नो–काराबाखका केही तथ्यहरु
    क्षेत्रफलः ११,४५८ वर्ग किलोमिटर, अधिकांश भूभाग उच्च पहाडी, हिमाली
    स्थापनाः सेप्टेम्बर २, १९९१
    राजधानीः स्टेपानाकार्ट
    जनसंख्याः १५०,९३२ (सन् २०१५)
    धर्मः ९९ प्रतिशत इसाई
    भाषाः आर्मेनियाली
    मुद्राः अर्तशख ड्राम, आर्मेनियाली ड्राम
    
नागोर्नो काराबाखलाई खासमा आर्मेनियाले आफ्नो ठान्छ । यहाँका अधिकाँश मानिसको समर्थन पनि आर्मेनियातर्फ छ । यहाँ ९५ प्रतिशतभन्दा बढी मानिस आर्मेनियाली मूलका छन् । आर्मेनियाले नागोर्नो–काराबाखका लडाकू विद्रोहीहरुलाई तालिम, हतियार, आर्थिक तथा राजनीतिक समर्थन दिएको छ । तर अजरबैजानले यो भूभागमाथिको दाबी छाडेको छैन । हुनतः यो भूभाग अजरबैजानभित्र पर्दछ, र अन्तर्राष्ट्रिय रुपमा पनि नागोर्नो काराबाखलाई अजरबैजानकै भनेर मान्यता प्राप्त छ ।

नागोर्नो काराबाखको समस्या के हो ?

नागोर्नो काराबाखको द्वन्द्व खासमा जातीय र भौगोलिक दुबै रुपमा जोडिएको छ । यहाँ अधिकांश मानिस आर्मेनियाली मूलका र क्रिश्चियन छन् । नागोर्नो–काराबाखलाई घेरेका सात वटा जिल्लामा भने मुस्लिम बहुल अजरबैजानी मूलका मानिसको बसोबास थियो, तर उनीहरु जातीय उत्पीडन सहन नसकी यी ठाउँ छाडेर अन्यत्र पलायन भइसकेका छन् । नागोर्नो–काराबाखका लडाकूहरुले यो ठाउँलाई ”अर्तशाख गणतन्त्र” अर्थात रिपब्लिक अफ अर्तशाख नामकरण गरी स्वतन्त्र मुलुक घोषणा गरेका छन् । तर अन्तर्राष्ट्रिय तहमा यो घोषणाले मान्यता पाएको छैन ।

नागोर्नो–काराबाखको विषयलाई लिएर मूलतः सन् १९८८ देखि ठूलो विवाद हुँदै आएको हो । त्यतिखेर काराबाख आर्मेनियालीहरुले काराबाख क्षेत्रलाई सोभियत अजरबैजानबाट सोभियत आर्मेनिया समक्ष हस्तान्तरण गर्न माग राखेका थिए । द्वन्द्व बढ्दै गएपछि सन् १९९० को दशकको शुरुमा अजरबैजान र आर्मेनियाबीच भिषण युद्ध भएको थियो ।
अर्तशाख गणतन्त्रको संसदले एकपटक नागोर्नो–काराबाखलाई आर्मेनियामा गाभ्ने गरी मतदान पनि गरिसकेको छ । फेरि एक पटक गरिएको जनमतसंग्रहमा अजरबैजानी मूलका मानिसले विरोधस्वरुप चुनाव बहिस्कार गरेका थिए, तर चुनावी परिणाम नागोर्नो–काराबाखलाई आर्मेनियामा मिसाउने होइन कि स्वतन्त्र राज्य बनाउनु पर्ने आएको थियो । आर्मेनियामा नागोर्नो–काराबाखलाई गाभ्नु पर्दछ भन्ने विषय अपेक्षित रुपमा शान्तिपूर्ण थियो ।

सन् १९८८ फेब्रुअरी २० मा नागोर्नो–काराबाख स्वायत्त ओबलास्ट (एनकेएओ) को संसदले काराबाख क्षेत्रलाई आर्मेनियामा गाभ्ने निर्णय गरेको थियो । सोभियत रुसले आफू पतन हुँदै गर्दा सोभियत अजरबैजान भित्र आर्मेनियाली पृथकतावादीलाई मद्दत गरेको थियो । अजरबैजानले रुसबाट अलग भएको घोषणा गरेलगत्तै नागोर्नो–काराबाख क्षेत्रका आर्मेनियालीले पनि नागोर्नो–काराबाख छुट्टै राज्य घोषणा गर्दै अजरबैजानबाट अलग्गिएको घोषणा गरेका थिए ।

युद्धबिराम

युद्ध लम्बिदै गएपछि अन्तर्राष्ट्रिय मध्यस्थता प्रयासमा अजरबैजान र आर्मेनियाबीच सन् १९९४ मा युद्धबिराम भएको थियो । यस अवधिमा झण्डै २८ देखि ३८ हजार व्यक्तिको मृत्यु भएको थियो । यस युद्धमा आर्मेनियाली सैनिक करिब छ हजार तथा अजरबैजानी सैनिक ११ हजार ५०० भन्दा बढीको मृत्यु भएको थियो । तर पश्चिमी मुलुक एवं रुसी अनुमान अनुसार युद्धमा झण्डै २५ हजारदेखि ३० हजार सैनिकको ज्यान गएको थियो । युद्धबिराम भएको झण्डै दुई दशक यस क्षेत्रमा शान्ति कायम भयो । तर सन् २०१६ अप्रिलमा चार दिने भिषण युद्ध भयो । त्यसपछि फेरि रोकिएको युद्ध हालैमात्र फेरि शुरु भएको छ । सन् १९९४ मा युद्धबिराम हुँदा अजरबैजानबाट करिब २ लाख ३० हजार आर्मेनियाली र आर्मेनिया एवं काराबाख क्षेत्रबाट झण्डै ८ लाख अजरबैजानी नागरिक पलायन भइसकेका थिए । सन् १९९४ मा रुसी मध्यस्थतामा युद्धबिराम घोषणा गरिएको थियो ।

फेरि युद्ध

सेप्टेम्बर २७, २०२० मा नागोर्नो–काराबाख क्षेत्रलाई लिएर फेरि संकट गहिरियो । आर्मेनियाले मार्सल कानुन घोषणा गर्दै व्यापक सैन्य परिचालनको निर्णय गर्यो । त्यही दिन अजरबैजानको संसदले पनि मार्सल कानुन पारित गर्दै धेरैवटा गाउँ नगरमा कफ्र्यु लगायो । यस पटकको युद्धमा विगतमा भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले पनि युद्धबिराम गर्न र युद्ध रोक्न दुबै पक्षलाई निरन्तर अनुरोध गरिरहेका छन् । अन्तर्राष्ट्रिय मध्यस्थता वार्ता रुस, टर्की, राष्ट्रसंघ सबैतिर भइरहेका छन् ।

मध्यस्थता प्रयास

यस युद्धलाई कतिपयले रसिया–टर्की तथा इरान–इजरायलबीचको छद्म युद्धको रुपमा पनि हेर्ने गरेका छन् ।

रसियाले नागोर्नो–काराबाख मामिलामा आफूलाई निरपेक्ष भन्दै द्वन्द्व निरुपणका लागि विगतदेखि नै मध्यस्थता प्रयास जारी राखेको छ । रुसको सक्रियामा फेरि पनि युद्धबिराम भएको छ जसमा आर्मेनिया र अजरबैजानका नेताहरुले समर्थन जनाएका छन् । युद्धबिराम घोषणा लगत्तै रुस र टर्कीले शान्ति सैनिक परिचालन गर्न थालको छन् । तर युद्धबिरामलाई लिएर आर्मेनियामा विरोध प्रदर्शन भइरहेका छन् भने अजरबैजानमा खुशीयाली मनाइएको छ ।

युद्धबिराम गर्दा अजरबैजानले आफ्नो गुमेको भूभाग पुनः प्राप्त गर्ने सहमति भएको छ । आर्मेनियाका प्रधानमन्त्रीले आफूहरुले कब्जा गरेको अजरबैजानको भूमि फिर्ता गर्ने सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । बिबिसीका अनुसार आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयानले युद्धबिराम पीडादायी भए पनि आफूहरुसँग अर्को विकल्प पनि नभएको बताउनु भएको छ । 

तर युद्धबिरामको सिलसिला जारी रहे पनि स्थायी समाधान हुने अझै देखिन्न । कुनै पनि समयमा युद्ध हुने खतरा छ ।

(विभिन्न संचार माध्यमको सहयोगमा तयार पारिएको)