विराटनगर । विराटनगर र धरानका एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारत्त एकजना वृद्ध र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत्त एकजना महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकलमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ६ः३० बजे उनको मृत्यु भएको मृतकमा स्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो ।
यस्तै धरान उपमहानगरपालिका– ११ की २९ वर्षीया महिलामा कात्तिक २७ गते कोरोना पोजेटिभ देखिएको उनमा मृगौलाको समस्या रहेकाले कात्तिक ३० गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।











