८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

सामाचकेवा पर्वः स्नेहपूर्ण वातावरणको अनुभूति

सामाचकेवा पर्वः स्नेहपूर्ण वातावरणको अनुभूति
अ+ अ-

 हिमांशु चौधरी । सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ-आफ्ना भाइलाई आशीष दिन विनती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ ।

आबह सामा, आबह चकेवा हे अपन देश
भाइ मोर हे आशीष दैह
जीबह भाइ लाख बरीस ।।।

भाइ–बहिनीको प्रेमको प्रतीक रहेको सामाचकेवालाई गीतका माध्यमले आह्वान गरी दिदीबहिनीले भाइको दीर्घायुको कामनाका गरी श्रद्धापूर्वक मनाइरहेको यो गीत त्यसको दृष्टान्त हो । सामाचकेवा दिदीबहिनीद्वारा  दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । भ्राति द्वितीयाका दिन दिदीबहिनीले सामाचकेवाका पात्रहरूको माटोको आकृति बनाई छठपर्वको खरनादेखि पूर्णिमासम्म यस पर्वको आयोजन गर्ने गरेको पाइन्छ । प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व विशेष गरी बालिकाहरूको भए पनि युवती र प्रौढहरूको उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुबैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामाचकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।

मैथिल ललनाद्वारा सामा चकेवाका माटोको आकृतिहरू बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने परम्परा रहेको छ । छठपर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छाअनुसारका रङहरू प्रयोग गरी सामालाई सिङ्गारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाइ सकिन्छ । तराई भेगमा घरघरमा माटिको मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । कहीँकहीँ साथी–सङ्गी र नन्द–भाउजुबीच कोसेलीका रूपमा पनि सामा पठाउने गरिएको पाइन्छ । कतिपय दाजुभाइ नहुने दिदीबहिनीले भाइको जन्मको भए ढोल बजाएर सामा खेल्नेछु भनी भाकलसमेत गरेको पाइन्छ ।

यस अवसरमा एउटा चङ्गेरा (बाँसबाट बनाइने ढक्की विशेष) मा सामाका मूर्तिहरू सजाएर राखिन्छ । यसअन्तर्गत सामाको भोजनका लागि भनेर एउटा झपना (छोप्ने) भएको सामाको पौति (बाँस वा खर वा सीकीबाट बनाइएको भाँडो विशेष) मा च्यूरा र गुड राखिन्छ । रातिको समयमा खानपिन गरी महिला वर्ग सामूहिकरूपमा डाला लिएर एकत्र भएर विभिन्न प्रकारका गीतहरू गाउँदै सामा खेल्ने गर्दछन् । गीतहरूमा भाइबहिनीको आत्मीयता र स्नेह, सामाको जीवनमा परेका दुःख, चुगिलाले चुक्ली लगाएकोमा उसलाई गरिने गाली आदि विषयहरू समेटिएका हुन्छन् । चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने र पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवा लगायत चुगला, ढोलिया, भरिया,  सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवालाई नयाँ धानको बालाले पूजा गर्ने चलन पनि रहेको छ ।

यस पर्वमा दिदीबहिनीले मनोबाञ्छित फल प्राप्तिका कामनाका साथै मूर्तिहरूलाई चलायमान गरी  वृन्दावनमा आगो लगाउने, चुगलाको मुख आगोले पोल्ने तथा  विसर्जन गर्नुपूर्व दाजुभाइले सामालाई घुँडामा राखी फुटालेपछि सबैले अन्य मूर्तिहरू फुटाल्छन् ।  माटोका मूर्तिहरू त्यत्तिबेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर मार्मिक, मनोरञ्जक एवं मर्मस्पर्शी गीतिसंवाद बोल्छन् :

कानि खिजि चिठिया लिखौलनि
फलाँ बहिनो भैजौलनि हजामका हाथ
चिठिया दिहन्हि हो भैया, फलाँ भैयाके हाथ
भेला घोडा पर सवार
बाबाक सम्पतिआ हो भैया
भतिजबा के ओ आस
हम परदेशिन हो भैया
सिन्दूरवा केर हो आस ।।। ।

यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन्, भाइ पत्र पाउनबित्तिकै घोडामा सवार भइ सिन्दुर र टिकुलीसहित बहिनीकहाँ आउँछन् । बहिनीले मसँग धनसम्पति पर्याप्त छ, मलाई तपाईसँग मेरो सिन्दुरको रक्षाको आशामात्र छ भनी उल्लेखले भाइबहिनीको शाश्वत प्रेमलाई दर्शाउँछ । सुक्ष्मरूपले विचार गर्दा सामा खेल ग्रामीण महिलाहरूको अभिनय जस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व मानिएको देखिन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद रहेको छ । पद्म पुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ ।  यसअनुसार कृष्णका सोह्र हजार एक सय आठ रानी थिए । उनीहरुमा रूक्मिणी, सत्यभामा, कालिन्दी, मित्रविन्दा, नाग्नजिति, सुलक्ष्मणा, सुशीला र जाम्बवती आठ पटरानी थिए । ऋक्षराज (भालुहरूको राजा) जाम्बवानले कृष्णबाट शमन्तक मणिका लागि भएको युद्धमा पराजित भएपछि मणिका साथै छोरी जाम्बवतीलाई कन्यादान दिएका थिए । यही जाम्बवतीबाट शाम्ब छोरा र श्यामा (सामा) नामको छोरी प्राप्त भएको थियो । पद्म पुराणका अनुसार सामा र वृन्दावनका एक कुमार चारूवक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चुडक (चुगला) पनि सामालाई प्रेम गर्दछन् । सामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई सामाको सतित्व सम्बन्धमा झुठा कुराहरू सुनाइदिन्छ । कृष्ण छोरी सामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारूवक्य सामाको विरह व्यथाले महादेवको तपस्या गरी चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीका रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।

यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा शाम्ब फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भइ बहिनी सामा र चारूवक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गइ तपस्या गर्न थाल्छन् । सामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ ।आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा च्रडक किचिएर मर्छ । यसपछि भगवान विष्णु शाम्बप्रति खुशी भइ सामा र चारूवक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदिेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता छ । सामा चकेवा पर्वमा श्यामा र चारूवक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारूवक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो । संस्कृतिविद् रामभरोस कापडिका अनुसार यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ ।  मानव मात्र हैन, घरपरिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर, जङ्गल– जीवनकै सिद्धान्तअनुरूप वृन्दावन जङ्गल सम्बन्धको अद्भूत समन्वय रूप हो । सामाको सन्देशले समाजमा भावनात्मक एवं रागात्मक सम्बन्ध स्थापित गराउनमा पूर्णसार्थक देखिएको छ ।