१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

यसरी गोरखा पुगेका थिए प्रकाश ‘काले’

यसरी गोरखा पुगेका थिए प्रकाश ‘काले’
अ अ+ अ-

काठमाडौं । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका प्रकाश तामाङ ‘काले’ साहू टासीका भाईमार्फत गोरखा पुगेको खुलेको छ ।

साहू टासीको कान्छा छोरा छेतेनले ‘हेर्ने कथा’सँगको कुराकानीमा यसबारे प्रस्ट पारेका छन् । संवादमा उनी भन्छन् , ‘मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर, सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो ।’

आफूलाई प्रकाशले नै हुर्काएको स्मरण गर्दै उनले भने ‘हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर, सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।’

यस्तो छ पूरा संवादः  ‘हेर्ने कथा’बाट साभार

चुम भ्यालीका प्रकाशका साहु (टासी)का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न’ – छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमाः
“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।

पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।

हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !

प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने–सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।

अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।

हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।

हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो ( मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।

केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।

म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु ।