१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा

त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
अ अ+ अ-

काठमाडौँ । “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है ?”

ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो ।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ । गाउँभन्दा तल सुसाइरहने दूधकोसी । गाउँको सिरानमा उभिएको बडेमान लिब्जु डाँडा । बाक्सामा भर्खरै एउटा अभियान चलेको थियो, ‘घरमा चर्पी बनाउने, चर्पीमा शौच गरिसकेपछि र खाना खानुअघि साबुन पानीले हात धुने । नङ काट्ने, दाँत माझ्ने ।’ यो अभियान बालबालिकामा केन्द्रित थियो ।

प्रत्येक साता गाउँको चोकमा केटाकेटी जम्मा पारिन्थ्यो । यी सबै नियम पूरा गर्नेले कापी कलम पाउँथे । त्यही लहरमा साबुनपानीले हात मिचेर, नङ सफा चट पारी, दाँत माझिसकेपछि इँ गर्दै ङ्च्चि दाँत देखाउन पुग्नुभएको थियो सुमन कार्की । उहाँले पनि कापी कलम पाउनुभयो । फुरुङ्ग हुनुभयो । सङ्कट त त्यतिबेला आइलाग्यो जब अगाडि उभ्याएर उही दिदी (ठूलो बुबाकी छोरी)ले स्वास्थ्य अभियानबारे केही बोल्न लगाउनुभयो ।

सुमनलाई सुरुमा त बोल्ने साहस जागेको थियो । सधैँ तँ तँ, म म गर्ने गाउँकै साथीहरुको अघिल्तिर उभिइसकेपछि त सबै पराइ झैँ लाग्यो । मुटु चिसो भयो र कोखा घोच्यो । फोक्सोको आकार बढेर छातीभित्र अटेन । शरीर काँप्न थाले । वाक्य बन्द भयो । शरीरमा पसिनाको मूल फुट्यो थाल्यो । अनि एक्कासि भक्कानो छुट्यो । बोल्नुको साटो क्वाँक्वाँ रुन थाल्नुभयो । अनि वक्ताको जिम्मेवारीबाट सुमनले उन्मुक्ति पाउनुभयो । “भयो भयो नरो”, दिदीले भन्नुभयो, “तैँले बोल्नु सकिनस् ।” तर यो घटनाले सुमनलाई झन्डै एक साता सतायो । बाख्रा चराउन जाँदासमेत साथीभाइले देख्लान् कि भनेर लुक्नुुपर्‍यो । कारण केही थिएन, थियो त केवल साथीभाइले जिस्काउँछन् भन्ने लाज । विद्यालयमा त झन् निहुरमुन्टीमै केही दिन बित्यो ।

हो त्यही सुमन कार्की अहिले युवा पुस्ताका उम्दा हास्यकलाकार (कमेडियन) हुनुहुन्छ । हुन त उहाँ ‘करिअर’को यात्रामै हुनुहुन्छ । थाहा छैन शिखरमा पुग्नुहुन्छ या पुग्नुहुन्न । तर नेपाली हास्यव्यङ्ग्य क्षेत्रको आधार शिविर टेकिसक्नुभएको छ । दर्शकसामु परिचित भइसक्नुभएको छ । “म सानो छँदा बुबालाई किन झिसमिसेमै निद्राले छोडेको होला जस्तो लाग्थ्यो”, सुमनले भन्नुभयो, “त्यो त जिम्मेवारीले पो रहेछ । अहिले आएर बुझेँ ।”

एक दशकअघिका सुरुआती दिनमा सुमनलाई आनन्दै थियो । “हुन्छ भने हुन्छ, हुँदैन भने केही गरौँला भन्ने लाग्थ्यो । अब त अर्को क्षेत्र रोज्न पनि गाह्रो । ‘करिअर’को यो चरणमा दबाब महसुस हुने रहेछ । आफूलाई ‘अपग्रेड’ गर्दै यही क्षेत्रमा टिक्नुपर्ने चुनौती छ”, उहाँ भन्नुहुन्छ ।

सुमनका बुबा बल उमेर हुन्जेल मजदुरीका लागि भारततिर धाइरहनुहुन्थ्यो । सुमनलाई पनि बालखैमा केही वर्ष भारत लैजानुभयो । उताबाट फर्केपछि गाउँकै मनकामना माविमा एकैचोटि कक्षा ३ मा भर्ना गर्नुभयो । खान लाउनै नपुग्ने पहाडका पाखा रेखा छाडेर सुख खोज्दै कक्षा ४ पढिसकेपछि बुबाले मोरङको रतुवामाई नगरपालिका–९ मा बसाइँ लानुभयो ।

सुमनका एक दाजु र एक बहिनी हुनुहुन्छ । पढाइमा सामान्य सुमनले २०६५ सालमा फलामे ढोका एलएलसी पार गर्नुभयो । अनि त्यहीँको कलेजबाट १० जोड दुई पढ्नुभयो । त्यतिबेला रेडियोको लोकप्रियता धेरै थियो । रेडियोमा फोन गर्ने श्रोतासमेत चर्चित हुन्थे । गाउँमै रेडियो सुनाखरी सञ्चालन हुने तयारीबारे सुनेपछि सुमनको खुट्टा एकै सेकेन्ड भुइँमा अडिएन । रेडियोसम्बन्धी तालिममा सहभागी हुनुभयो ।

तालिम सकिएपछि १० जना छनोट गर्ने प्रक्रियामा सामेल हुनुभयो । तर उहाँ छनोटमा पर्नुभएन । छनोटमा नपरे पनि उहाँले रेडियो स्टेसन धाउन छाड्नुभएन । “म चाहिँ त्यत्तिकै धाइरहेँ घरबाट साइकल पेलेर । मलाई विज्ञापनमा बोल्न पो दिहाल्छन् कि, नाटक खेल्न पो दिन्छन् कि भनेर आश लाग्ने नि त”, हालैको एक दिन अनामनगरस्थित मण्डला थियटरमा कफीको चुस्की लिँदै सुमनले विगत स्मरण गर्नुभयो, “रेडियोमा गइरहेपछि सबैले चिन्नुभयो । पछि काम गर्न बोलाउनुभयो ।”

त्यसपछिका तीन वर्ष सुनाखरी रेडियोको माइक्रोफोनसँग बित्यो सुमनको । गाउँको रेडियोमा ‘अलराउन्डर’ भूमिका । जेनेरेटर चलाउनेदेखि, प्राविधिक, कार्यक्रम प्रस्तोता, समाचारवाचक, विज्ञापन बनाउनेलगायत सबै । रेडियोको ‘क्रेज’ क्रमश: ओरालो लाग्दै थियो । सुमनले स्नातक उत्तीर्ण गर्नुभयो । मूल सपना कलाकार बन्नु थियो, दर्शकमाझ चिनिनु थियो । त्यसका लागि एकपटक सङ्घीय राजधानीमा पाइला राख्नै थियो ।

कलाकार बन्ने धोको

सुमनका हजुरबुबा भारतीय गोर्खा सैनिक । भर्तीबाटै ल्याउनुभएको थियो रेडियो । झिसमिसेमा चराचुरुङ्गीको चिरबिरसँगै रेडियो ‘अन’ हुन्थ्यो । रेडियो नेपालको शङ्ख ध्वनिले सुमनको निद्रा भाग्थ्यो । रेडियोमा सुनेका नाटक, विज्ञापनका संवादहरु जस्ताको तस्तै सुनाउँदा साथीहरु हाँस्थे । नाटकका संवाद हुन् या कृषि कार्यक्रमको ‘हरि शरणम्’ ठ्याक्कै पार्नुहुन्थ्यो सुमन ।

यो रेडियोमा कसरी बोल्ने होला ? कस्ता मान्छेले बोल्ने होला ? यस्ता जिज्ञासाको जवाफ पाउन चाहिँ सुमनले दशकौँ कुर्नुपर्‍यो । काकाको बिहेमा वाक्सादेखि ओखलढुङ्गा सदरमुकाम जन्ती जाँदा पहिलोपटक टिभी देख्नुभएको थियो । तर त्यो पनि कार्टुनभित्र । टिभीमा मान्छे देखिन्छ रे भन्ने सुन्दा कस्तो देखिन्छ होला भन्ने हुटहुटीले पोलिरहन्थ्यो ।

सानोमा उटपट्याङ उत्तिकै आउने सुमनलाई । गोठालो जाँदा गाउँलेको गोरु जुधाउनेदेखि भाले जुधाउनमा माहिर । जसरी भए पनि कसैले मलाई चिनोस् भन्ने मनमा लाग्नु नै सायद सुमनको कलाकार बन्ने अदृश्य चाहना थियो । त्यही चाहनाले सुमनलाई आज यहाँसम्म डोर्‍याएको हुनुपर्छ ।

बुबाआमाले तराई झारेपछि पनि घरमा टिभी किन्ने आर्थिक हैसियत थिएन । छिमेकी वा गाउँले कहाँ गएर हेर्नुपर्ने । “एकाएक निखिल उप्रेतीको ‘ब्लाइन्ड फ्यान’ भइयो”, सुमन सुनाउहुन्छ, “निखिल जस्तो बन्न भित्ता, छानामा झुन्डिनेदेखि खेतको कुनै आली बाँकी रहेन उल्टी सुल्टी जिन्म्यास्टिक हान्ने कामले ।”

निखिललगायत कलाकार भेट्न एसएलसी पास गर्ने बित्तिकै एउटा झोला भिरेर काठमाडौँ हान्निनुभयो । उहाँलाई लाग्थ्यो काठमाडौँ कत्रो होला र ? बढीमा विराटगर जत्रो त होला । त्यत्रो फिल्म खेल्ने कलाकार त काठमाडौँमा बाटोमै छ्यापछ्याप्ती भेटिएलान् । भेट्ने हो, कुरा गर्ने हो, फोटो खिच्ने हो । सके फिल्म खेल्ने प्रस्तावै गरौँला । तर काठमाडौँ टेकिसकेपछि थाहा भयो, काठमाडौँ र मोरङका सहरबीचको भिन्नता । महिनौँसम्म कुनै सडक र गल्लीमा उहाँले टेलिभिजनका पर्दामा देख्नुभएको कलाकारको छायाँसम्म भेट्नुभएन । कलाकार भेट्ने भूत ओर्लियो र फेरि उही रतुवामाई फर्किनुभयो ।

रेडियो सुनाखरीमा उहाँले एउटा कमेडी कार्यक्रम प्रस्तुत गर्नुहुन्थ्यो । उहाँ रेडियोमा मात्र सीमित हुनुहुन्थेन । माइक भेटिने जति कुनै कार्यक्रम बाँकी नराख्ने । गाउँका पुराणदेखि पशुचौपायासम्बन्धी शिविरमा समेत केही न केही सुनाएर मान्छे हँसाउने । “पूर्वमा राष्ट्रिय कलाकार सहभागी हुने सांस्कृतिक कार्यक्रममा त ‘ओपनिङ’ मा सानो प्रस्तुति राख्न पाए मात्रै संसार जिते झैँ लाग्ने । अझ कुनै कुनै आयोजकले पोस्टरमा सानो फोटो राखिदिँदा खुसीको सीमा नहुने”, कफिको अन्तिम सुर्को तानेपछि उहाँले भन्नुभयो ।

स्थानीय रेडियोमा काम गर्ने रहर पूरा भएपछि अब स्नातकोत्तर पढ्ने र सकिएमा कलाकारिता गर्ने सोचले उहाँले काठमाडौँ जाने योजना बुन्नुभयो । तर काठमाडौँमा उहाँका आफन्त कोही थिएनन् । कहाँ जाने रु कहाँ बस्ने रु योजना सुनाइरहँदा एकदिन इटहरीस्थित सप्तकोसी एफएममा कार्यरत सन्दीप भट्टले काठमाडौँमा गएर रेडियो अडियोमा काम गर्न सुझाव दिनुभयो । सुझाव मात्र दिनु भएन उहाँले रेडियो सञ्चालक दीपेन्द्र खनियालाई टेलिफोन गरेर संवाद गराउनुभयो ।

विसं २०७२ को भूकम्पपछि उहाँ काठमाडौँ आउनुभयो । खनियालाई भेट्न रेडियो अडियोमा जानुभयो । उहाँको प्रस्तुतिहरु सुनिसकेपछि नभन्दै खनियाले जागिर दिनुभयो । काठमाडौँमा टिक्नकै लागि भए पनि उहाँले फेरि रेडियोमा बोल्न थाल्नुभयो । तर यहाँको रेडियोको प्लेटफर्म र रतुवामाईको प्लेटफर्मबीचमा आकाश जमिनको भिन्नता थियो । यहाँ राष्ट्रियस्तरका कलाकारहरुसँग दैनिक भेट भइरहन्थ्यो । चिनजान हुन थाल्यो ।

यही क्रम चलिरहँदा २०७४ सालको वैशाखमा एकाएक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले टेलिफोन गरेर उहाँलाई एउटा कामको प्रस्ताव गर्नुभयो । सुमनलाई उक्त प्रस्ताव सपना हो कि विपना भनेर छुट्याउन आफैँलाई चिमोट्नुपर्‍यो । आचार्यको उपन्यास ‘हरिबहादुर’ विमोचनमा एउटा प्रहसन गर्नु थियो । यसमा पत्रकार ऋषि धमलाको अभिनय सुमनले गर्नुपर्ने थियो । आचार्यले दीपेन्द्र खनियालाई सोध्दा सुमनको नाम सिफारिस गर्नुभएछ । त्यसपछि हरिवंशले सुमनलाई पुस्तक विमोचनको दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा र पछि देश दौडाहामा सँगै लैजानुभयो ।

“त्यो क्षण मेरा लागि एउटा कलाकारले ओस्कार अवार्ड पाएभन्दा ठूलो थियो”, कफी सकिएपछि कालो चिया मगाउँदै उहाँले भन्नुभयो, “पहिलो दिन डबलीमा हरिवंश दाइसँग अभिनय गर्दा त मैले पूरै बेहोसीमै गरेँ । अहिले पनि त्यो भिडियो हेर्दा त्यतिबेला म होसमा थिएँ जस्तो लाग्दैन ।” तर हरिवंश आचार्यसँगको त्यो कामले उहाँलाई धेरै कुरा सिकायो । अनुशासन, दर्शकलाई गर्नुपर्ने व्यवहार, विनम्रता, हास्यव्यङ्ग्य प्रस्तुति र लेखनमा ध्यान दिनुपर्ने विषय आदि सिक्न पाउनुभयो ।

त्यसपछि उहाँ ‘कमेडी च्याम्पियन’ नामक प्रतियोगितामा सहभागी हुनुभयो । विजेता हुन नसके पनि प्रतियोगिताले परिचय थप फराकिलो बनाइदियो । पछि ‘डान्सिङ स्टार’ नामक ‘रियालिटी शो’को प्रस्तोताको भूमिका पनि निर्वाह गर्नुभयो । ‘कमेडी क्लब विथ च्याम्पियन’ नामक टेलिभिजन शोमा विभिन्न भूमिकामा देखिनुभयो । केही चलचित्रमा अभिनय गर्नुभयो । उहाँकै भनाइमा आफूले थाहा पाउने गरी धेरैवटा र दर्शकले थाहा पाउने गरी दुईवटामा अभिनय गरिसक्नुभएको छ । ती दुई चलचित्र ‘दिमाग खराब’ र ‘महजात्रा’ हुन् ।

सामाजिक विषयमा व्यङ्ग्य

हास्यका विविध विधा छन् । त्यसमध्ये सुमन सामाजिक विषयवस्तुमा व्यङ्ग्य गर्नुहुन्छ । उहाँ प्रहसन, ‘मिमिक्री’, ‘स्ट्यान्ड अप’ कमेडी गर्नुहुन्छ । उहाँको कमेडी पुरानो पुस्ताका कमेडियनभन्दा आधुनिक छन् । तर अहिलेका युवा पुस्ताको झैँ  उत्तर आधुनिक पनि हैन ।

“अहिलेका युवा र पुरानोको बीचमा परियो । म अलि पुरानो पुस्ताको कमेडियन हेरेर हुर्किएँ । कमेडीको विभिन्न फम्र्याट छन् । मैले मह जोडीको प्रहसन, दीपक दीपा, जितु नेपालको सिरियल हेरेर हुर्किएको हुँ”, उहाँ भन्नुहुन्छ,  “अहिलेको ‘योङ जेनेरेसन’को कमेडी चाहिँ पूरै युवाले मात्र मन पराउने सहरिया र विदेशी किसिमको देखिन्छ ।”

उहाँले सामाजिक विषयवस्तुमा कमेडी गर्न मनपर्ने बताउनुभयो । “मलाई सामाजिक विषय मनपर्छ । म गाउँको मान्छे । यही समाजमा हुर्केको भएकाले मलाई यही विषय थाहा हुन्छ । धेरैजसो दर्शक पनि यही समाजका भएकाले यही मन पराउँछन् जस्तो लाग्छ । नजानेको विषयमा कमेडी त गर्नु पनि सक्दिन होला । सामाजिक विषयमा त मैले देखिरहेको पात्रहरु हुन्छन्”, उहाँले थप्नुभयो ।

त्यसो त उहाँलाई हास्य मात्रै नभएर गम्भीर प्रकृतिका अभिनय गर्ने इच्छा पनि छ । तर अहिले ‘करिअर’को मध्य अवस्थामा धेरैले आफूबाट हँसाउने अपेक्षा राखेको उहाँको अनुभव छ । कुनै दिन अवसरमा मिलेमा ‘कमिक क्यारेक्टर’ मात्र नभइ ‘सिरियस क्यारेक्टर’ गर्ने धोको पनि छ उहाँमा ।

उहाँलाई अझै लेखन सिक्ने भोक छ । सदाबहार प्रकृतिका कमेडी गर्न मन छ । “जसरी मह जोडीको पुरानो प्रहसनहरु हेर्दा अझै उस्तै लाग्ने खालको छन्, त्यस्तै, लामो समय जीवन्त हुने कमेडी गर्नु मन छ”, सुमन भन्नुहुन्छ, “हास्यव्यङ्ग्य ले हँसाउने मात्र हैन नि यसबाट अरूले बोल्न नसकेका विषय उठान गर्न सकिन्छ ।” सकेसम्म विवादित चीजहरु आफ्ना प्रस्तुतिबाट नआऊन् भनी सधैँ कामना गर्नुहुन्छ उहाँ ।

कलाकारितामा आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्नुपर्ने चुनौती छ । अबको पाँच वर्षपछि यस्तै कमेडी चल्छ कि चल्दैन ? दर्शक पनि अपग्रेड हुन्छन् । इन्टरनेटको दुनियाँ छ । आफूलाई दर्शकले हेर्ने बन्न आफैँ गतिलो हुनुपर्छ । कस्तो हास्यव्यङ्ग्य दर्शकले मन पराउँछन् होला ? उहाँ भन्नुहुन्छ, “म यही क्षेत्रमा टिक्नुसक्छु कि सक्दिन होला भन्ने चिन्ता प्रमुख हो ।”

कमेडी, कलाकारिता र अभिनयबाट जीविका चलाउन भने सहजै छ । केही महिनाअघि मात्रै अमेरिकाको विभिन्न राज्यमा १२ वटा कार्यक्रम गरी दुई महिना बिताएर फर्किनुभएका उहाँ यही भदौ १३ गते युरोप टुरका लागि उड्ने तयारीमा हुनुहुन्छ । भदौको १५ गते पोल्यान्डबाट सुरु हुने कार्यक्रम एक महिनामा  सकिन्छ । यसपटकको युरोप यात्रामा पोल्यान्ड, बेल्जियम, जर्मनी, फ्रान्स, फिनल्यान्ड, स्पेन, माल्टा, पोर्चुगल, नर्वे र डेनमार्कमा १२ वटा कार्यक्रम छन् ।

विदेश यात्राको सुरुआत कमेडी च्याम्पियनले पहिलोपटक दुबई लगेर गराएको थियो । विशेष कार्यक्रम र यात्राको क्रममा उहाँ ‘भ्लगिङ’ पनि गर्नुहुन्छ । भ्लगिङ गर्दा अपडेट हुने, संस्मरणका रुपमा रहने उहाँको अनुभव छ । अलिअलि फोन खर्च पुग्ने पैसा नि युट्युबबाट प्राप्त हुने उहाँले बताउनुभयो ।

“मेहनत गरियो, आफूसँग कन्फिडेन्स छ र भाग्यले नि साथ दियो भने कमेडीबाट राम्रो कमाई हुने रहेछ”, उहाँले भन्नुभयो, “तर अति उत्साही भइहाल्नु नि हुन्न, धेरै कुरामा ख्याल गर्नुपर्छ । कलाकारिता पेसा त्यति सहज पनि छैन ।”

हाँस्नु जति सजिलो छ, हँसाउनु उत्तिकै गाह्रो काम हो । बरु कसैलाई भावुक बनाएर रुवाउन सजिलो होला तर कसैलाई आत्मादेखि हँसाउनु कठिन हुन्छ । आफैँभित्रका हजारौँ दु:खहरु लुकाएर पनि हास्यव्यङ्ग्य कलाकारहरुले दर्शकहरुलाई हँसाइरहेका हुन्छन् ।

विश्वचर्चित कवि पाब्लो नेरुदाले भनेका छन्, ‘हाँसो आत्माको भाषा हो’ । कुनै बेलाको एउटा रुन्चे बालक सुमन अहिले नेपाली दर्शकको आत्माको भाषा बुझ्ने लहरमा दौडिरहनुभएको छ । रासस