१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै
अ अ+ अ-

इलाम । दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भन्नुभयो, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।”

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छन् । कोदो भटिँदैन ।

कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ । “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ ।” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताउनुभयो ।

इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ । सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताउनुभयो । मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यसवर्ष बारीको एकछेउमा एक मानाको बीउ रोप्नुभएको छ । “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ । यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो । जमाना फेरिएछ अब ।” उहाँले भन्नुभयो, “रोप्ने पनि थिइन । पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको ।”

कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ । प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक लाख आठ हजार तीन सय ७५ टन कोदो उत्पादन हुने गरेको छ । यो करिब रु पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।

सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।”

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो ।

कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ ।”

कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ । रासस