२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए



अ+ अ-

पर्वत । जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।

कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो । गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।

गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ । वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताउनुभयो । “गाउँघरमा रातिको समयमा पशचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो । “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन”, उहाँले भन्नुभयो ।

चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ । आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उहाँले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुन सक्ने उहाँले बताउनुभयो । पर्वतमा आव २०७९/८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो । रासस