२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै



अ+ अ-

काठमाडौं । आज असार शुक्ल एकादशी । घरघरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी पर्व मनाइँदै छ । तुलसीको चार महिनासम्म गरिने विशेष पूजाआराधना पनि आजै सुरु हुँदैछ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी ब्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।