२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्ती पस्दैछ बलान नदीको बाढी



अ+ अ-

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् ।

“जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान नगरपालिका—२३ बसनपुरका गङ्गाप्रसाद यादवले भन्नुभयो । यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो । बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उहाँको बिचल्ली भएको छ । आठ कठ्ठा आँपको बगँैचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्‍यो ।

बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उहाँको भनाइ छ । बाढीले बाँकी रहेको घर जग्गा बगाउने उहाँले चिन्ता व्यक्त गर्नुभयो । सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् ।

लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका–४ का हरिलाल यदवले जानकारी दिनुभयो । बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ । चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन् । “जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ”, स्थानीय मुशहरु यादवले भन्नुभयो ।

बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । “नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र रु ५० लाखको तारजाली र ढुङ्गा बिछ्याएको छ, तर समस्या उस्तै छ”, उहाँले भन्नुभयो ।