२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकाली मन्दिर परिसरका संरचना पुन:निर्माण सुरु, आज शिलान्यास सम्पन्न



अ+ अ-

काठमाडौँ । आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुन:निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुन:निर्माण थालनी गर्नुभएको हो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गर्नुभएको थियो ।

जग राख्नुअगाडि लुमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो ।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुन:निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ ।

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।

शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताउनुभयो ।

यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगत, वडा ११, २१ र २२ का अध्यक्षहरु क्रमश: हीरालाल तण्डुकार, उदय चुडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा सबैबाट स्वीकार भएको स्मारक भएको उल्लेख गर्नुभयो । यसँसँग स्थानीयबासीका संस्कार, संस्कृति तथा आस्था र परम्परा जोडिएको बताउँदै उहाँहरुले भन्नुभयो, ‘यसकारण भद्रकाली पुन:निर्माणमा विषयमा स्थानीयको चासो रहन्छ । यसका हरेक पक्षमा छलफल गर्दै आपसी बुझाइमा एकरुपता कायम गरेर पुन:निर्माण गर्नुपर्छ ।’

यो काम समयमा नै सम्पन्न हुनु पर्नेमा जोड दिँदै उहाँहरुले पुरातत्व विभाग र गुठी संस्थानलाई यसका अन्तरबस्तुमा चित्त नबुझेको केही भए महानगरपालिकामा आएर छलफल गर्न आग्रह गर्दै निर्माण कार्यका अवरोध हुने अभिव्यक्ति दिन वा क्रियाकलाप नगर्न सचेत गराउनुभयो ।

भद्रकाली भौगोलिक रुपमा वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, यो वहुपक्षीय सम्बन्ध राख्ने पुन:निर्माणको काम हो ।

पुन:निर्माणका लागि वैठक गएको ज्येष्ठ ३० गते काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुन:निर्माण सम्बन्धमा’ बैठक बसेर पुन:निर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो । यही बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको थियो ।

मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौत्तम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि हुनुहुन्छ । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई हुनुहुन्छ ।

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।