२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा व्यावसायिक स्याउ खेती



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो ।

एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिनुभयो । “यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ”, उहाँले भन्नुभयो, “बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ ।”

एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उहाँले बताउनुभयो । यहाँ लगाइएको स्याउको फल पहेँलो रङ  र स्वाद फुजी स्याउको जस्तै हुने उहाँको भनाइ छ ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ ।

टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उहाँले बताउनुभयो ।

केराको बिरुवा प्रतिगोटा रु ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा रु एक सय ३० मा बिक्री गरिन्छ । टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ । रासस




भर्खरै