१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा

पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा
तस्वीर:चन्दन ठाकुर
अ अ+ अ-

काठमाडौँ । ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रुपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदैछ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा गङ्गादशहरा मेला लाग्ने गर्दछ । दश दिन नभ्याउनेले भने आज विशेषरुपमा स्नान, पूजा एवं आराधना गरी पर्व मनाउने सनातनी परम्परा छ ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् । यहाँ विगत वर्षदेखि नै व्यवस्थितरुपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका दश दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिइ कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पुर्‍याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने १० प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि आज बिहानैदेखि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेश अनुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको उहाँको भनाइ छ ।

“यसअघि पर्शुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका १० दिने अवधिमा जेठ महीना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने गरेको छ । यो योगमा स्नान गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ”, भट्टराईले भन्नुभयो ।

पौराणिककालमा यही दश दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो दश दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा दश प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा नेपाल र भारतका तीर्थस्थलमा आज स्नान मेला लाग्ने गरेको छ । रासस